बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका ३ नौबस्तास्थित कन्हवा ताल विस्तार गरिने भएको छ । लुम्बिनी प्रदेश सरकार वन तथा भु–संरक्षण मन्त्रालय अन्तरगर चालु आर्थिक वर्ष २०८१–८२ मा २२ लाख रुपैयाँ विनियोजन भई ताल विस्तारको काम भइरहेको लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले जानकारी दिए ।
हाल रहेको तालको पुर्वतर्फ रहेको गहिरो जमिनमा माटो निकाली बाध बनाउन थालिएको छ । तालको पानी पुर्वतर्फ गएर ताल ठुलो हुनेगरी काम भइरहेको प्रदेशसभा सदस्य खत्रीले बताए ।
खत्रीले भने, “रमणीय रहेको ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न खोजेका छौं, यसमा थप बजेट आवश्यक देखिएको छ ।“
स्थानीय राजबहादुर थारूले कन्हवा ताल पछिल्लो समय आन्तरिक पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य हुन थालेको बताए । केहि वर्ष अघिसम्म ओझेलमा परेको ताल पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा विकास हुन थालेको भन्दै उनले ताललाई आकर्षक र रमणीय बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिए । तालको वरिपरि पदमार्गसहित बोरिङ आवश्यक भएको उनको भनाइ छ ।
बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको यो ताल पूर्वाधारको अभावमा ओझेलमा परेको स्थानीयको बुझाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार