Listen LIVE

तराईबाट पहाड पुगेर सिप सिकाउँदै

बैतडी : तराई/मधेशका कृष्णऔतार चौधरी २५० किलोमिटर टाढा पहाडी जिल्ला बैतडी पुगेर युवालाई फर्निचरसम्बन्धी सिप सिकाउँदै आएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट फर्निचर मेकरको तह दुई उत्तीर्ण गरेका चौधरी विगत पाँच वर्षदेखि पहाडी जिल्लाका विभिन्न ठाउँमा पुगेर युवालाई सिप सिकाउँदै आएका छन् । 

कैलारी गाउँपालिका–८, कैलालीका स्थायी बासिन्दा कृष्णऔतार चौधरी यो पटक दशरथ चन्द नगरपालिकाले आयोजना गरेको सिकर्मी तथा काष्ठकलासम्बन्धी तालिम दिन एक महिनादेखि बैतडी सदरमुकाममा छन् । यसअघि उनले बैतडीको पाटन नगरपालिका–८, खोड्पेमा प्रदेश सरकारको सहयोगमा फर्निचरसम्बन्धी तालिम दिइसकेको बताए ।

यो पटक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग प्रवर्धन महाशाखाको आर्थिक सहयोगमा दशरथ चन्द नगरपालिकाले सञ्चालन गरेको फर्निचरसम्बन्धी तालिममा २० जना युवालाई सिप सिकाइरहेका छन् । नगरपालिकाले फर्निचरसँगै बाँसजन्य वस्तुको सिप र छाला प्रशोधन गरी प्रविधि केन्द्र स्थापना गर्न तालिम चलिरहेको दशरथ चन्द नगरपालिकाको रोजगार शाखा प्रमुख नन्दराज जोशीले बताए ।

प्रतिक्रिया