Listen LIVE

ओखलढुङ्गा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु

खोटाङ : खोटाङबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । खोटाङबाट काठमाडौंका लागि छुटेको ना. १ ज. ६४२१ नम्बरको सुमो ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घना भएको हो । सुमोमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिहीबार बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थमा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र माया देवीको बहिनी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–का ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ ।

बिरामी मायादेवी गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर गएको बुझिएको छ । सुमोमा चालकसहित चार जना सवार थिए । तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सुनसरीको इनरुवा निवासी २२ वर्षीय अनिल पण्डित फरार रहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सुमो राति नै दुर्घटना भएको आँकलन गरिएको छ । बुधबार राति करिब ११ बजेको समयमा च्यास्मिटार प्रहरी बिटले रोक्न अनुरोध गर्दा पनि नरोकी सुमो तीव्र गतिमा गएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

प्रतिक्रिया