Listen LIVE

धामीझाँक्रीले बिरामीलाई स्वास्थ्य संस्था पठाउने

हुम्ला : विभिन्न देवताका धामीझाँक्रीद्वारा आफ्नोमा आउने बिरामीलाई नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गर्न पठाउने प्रतिबद्धता जनाएका छन् । धामीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनीहरूले सो प्रतिबद्धता जनाएका हुन् ।

ताँजाकोट गाउँपालिका–२ का मष्टो देवताका धामी असौजे सार्कीले चेतना फैलाउन आयोजित अभिमुखीकरण कार्यक्रमबाट धेरै कुराको जानकारी पाएको बताए । उनले अब गाउँमा बिरामी भएर आउने जो कोहीलाई पहिला स्वास्थ्य चौकी उपचारका लागि जान सुझाव दिने बताए । देवता चढेकै बेला बिरामीलाई अस्पताल गएर पनि उपचार गर्न सन्देश दिने उनले बताए ।

गाउँघरमा जुनसुकै बिरामी भए पनि पहिला स्वास्थ्य संस्थामा जानुभन्दा पनि धामी बसाल्न जाने चलन अहिले पनि विद्यमान रहेको छ । पहिले जानकारी नहुँदा बिरामीलाई स्वास्थ्य चौकीमा उपचार गर्न जान सुझाव दिने नगरिएको बताउँदै उनले अब पहिलो स्वास्थ्य संस्था गएर उपचार गर्न सुझाव दिने जानकारी दिए ।

बिरामीको उपचार धामीबाट भन्दा पनि स्वास्थ्य संस्थामा गएर उपचार गर्न सुझाव दिनका लागि पहिले धामीझाँक्रीलाई नै चेतना फैलाउनु आवश्यक देखिएकाले उक्त कार्यक्रम राखिएको आर्युवेद स्वास्थ्य केन्द्रकी प्रमुख चिकित्सक चाहाना शर्माले बताइन् ।

गाउँपालिकामा ४० जना धामीझाँक्रीलाई राखेर चार घण्टा सामाजिक कुरितीविरुद्ध चेतनामूलक सन्देश दिने कार्य भएको उनले बताइन् । मानिस बिरामी परे सबैभन्दा पहिले धामी बसाल्ने गरेको कुरा आइरहने भएका कारण धामीहरूलाई नै एक्कै ठाउँमा राखेर जनचेतना दिँदा प्रभावकारी हुने विश्वास गरिएकाले यो कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।

कार्यक्रमको अन्तमा सबै धामीझँक्रीले आफु काहाँ आउने बिरामीलाई उपचार गर्न स्वास्थ्य संस्था पठाउने प्रतिबद्धता जनाएको उनको भनाइ छ  । उनले अब यस्तो कार्यक्रम जिल्लाभरका धामी झाँक्रीलाई दिइने बताइन् । लिखित प्रतिबद्धतमा समेत उनीहरूले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया