नेपालगञ्ज : पश्चिम नेपालकै प्रमुख सहर नेपालगञ्जको फोहोर व्यवस्थापन हुन नसक्दा नगरको सरसफाइमा समस्या उत्पन्न भएको छ । जनप्रतिनिधि, सामाजिक अगुवा, सरसफाइकर्मी र सरकारी कार्यालयका प्रतिनिधिको सहभागितामा यहाँ आयोजना गरिएको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकका सहभागीले सो कुरामा जोड दिएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिका संंयोजक समिरप्रताप सिंहको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागी अधिकांशले पछिल्लो समयमा आएर नेपालगञ्जको सरसफाई खस्किंदै गएकाले सो बारेमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने बताएका छन् । पेसागत स्वास्थ्य सुुरक्षा निर्देशिका कार्यान्वयन, फोरपी प्लेटफर्मको निर्देशिका अनुमोदन तथा कार्यान्वयन, सरसफाइकर्मीको स्वास्थ्य बिमा, नेपालगञ्जलाई स्वच्छ र सफा बनाउने विषय र सरसफाइकर्मीको पारिश्रमिकको व्यवस्थालगायत पाँच वटा एजेन्डामा बैठकमा छलफल भएको ‘पेसागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का संयोजक समद सिद्दिकीले बताए ।
बैठकका अधिकांश सहभागीले नेपालगञ्जको फोहोर व्यवस्थापन राम्ररी हुन नसकेको, सरसफाइमा लापरवाही गरिएको, सरसफाइकर्मीको बिमा गर्नुपर्ने, उनीहरूलाई मापदण्ड बमोजिमको पारिश्रमिकको व्यवस्था गर्नुपर्नेलगायतका विषयमा उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
बैठकमा नेपालगञ्ज उपमहानगर वडा २ का वडा अध्यक्ष मनोज श्रेष्ठले नगरको सरसफाइमा संलग्न सबै निकायले मिलेर परिणाम देखिने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका वातावरण इन्जिनियर प्रकाश डिसीले सरसफाइका लागि शाखाले तदारुकतासाथ काम गरिरहेको जनाउँदै पेसागत स्वास्थ्य सुुरक्षा निर्देशिका, सरसफाइकर्मीको स्वास्थ्य बिमा र पारिश्रमिकका सम्बन्धमा उपमहानगरपालिकाका पदाधिकारी गम्भीर रहेको बताए ।
बैठकमा कार्यपालिका सदस्य बसन्त कनोजियाले उपमहानगरको सरसफाइको अति नै खस्किँदो अवस्थाबारेमा जनताले प्रश्न उठाउन थालेकाले सचेत भएर कार्यशैलीमा परिवर्तन गर्नुपर्ने सुझाव दिए ।
बैठकमा नेपालगञ्ज उपमहानगर वडा १२ र २० का वडा अध्यक्षहरू क्रमशः तरुण बज्राचार्य र कौशल धोबी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाही, उपमहानगरको शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापा, कानुन शाखाका प्रमुख माया शर्मा, श्रम तथा रोजगार सेवा कार्यालय बाँकेका प्रमुख पिन्टु रजक, स्वास्थ्य बिमा बोर्ड बाँकेका संयोजक अन्जना बराल, नेपालगन्ज उपमहानगरको कार्यपालिका सदस्य मुजम्मिल हलवाई र सङ्गीता रेग्मी, बाल्मिकी समाज नेपालका अध्यक्ष जगदिश बाल्मिकी र कबाडी मालसामान व्यवसायी सङ्घ बाँकेका अध्यक्ष मोहम्मद उमर हलवाई लगायतले धारणा राखेका थिए ।
नेपालगञ्जका सरसफाइकर्मी र सरसफाइमा आवद्ध निजी सङ्घ संस्थाका प्रतिनिधिसँगै ‘पेसागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का सामाजिक परिचालक सरिता अधिकारी र देवेन्द्र बुढा क्षेत्रीलगायतको पनि बैठकमा उपस्थिति थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार