Listen LIVE

नदीको कटानबाट गाउँ जोगाउन बर्दियामा जनश्रमदान

बर्दिया : कर्णाली नदीको कटानका कारण डुबानको उच्च जोखिममा रहेको बर्दिया र कैलाली सीमावर्ती गाउँहरू जोगाउन दैनिक तीन सयभन्दा बढी स्थानीय श्रमदानमा जुटेका छन् । बर्दियाको राजापुर नगरपालिका–४, दलैघाट क्षेत्रमा करिब एक दशकअघि तत्कालीन कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको तटबन्ध जीर्ण भएपछि नदीले कटान सुरु गरेको हो । कटान तीव्र भएसँगै तटबन्ध बग्ने खतरा बढेको छ ।

स्थानीय बासिन्दाले रुख, झाला–पाता र बालुवाले भरिएका बोरा प्रयोग गरी अस्थायी तटबन्ध निर्माण गर्दै नदी कटान रोक्ने प्रयास थालेका छन् । दलैगाउँका बडघर गोपाल थारूले भने, “नदीले प्रत्येक दिन कटान बढाएपछि गाउँ जोगाउन अस्थायी बाँध बनाउन बाध्य भएका हौँ ।” दलैघाटतर्फबाट नदी पसेमा सङ्घर्षनगर, घुम्ना, दलैगाउँ, शिवपुर, अनन्तपुरलगायत एक दर्जन गाउँ डुबानमा पर्ने खतरा बढेको छ । यससँगै राजापुर बजार क्षेत्र पनि जोखिममा परेको स्थानीयले बताएका छन् ।

राजापुर नगरपालिका–४ का बडघर जलवीर थारूले भने, “करिब एक किलोमिटर क्षेत्रमा नदी कटान भएको छ । विकल्प नभएपछि जनश्रमदानमार्फत अस्थायी तटबन्ध बनाउन थालेका हौँ ।” सरोकारवाला निकायलाई समस्या समाधानका लागि पटक पटक माग गरे पनि दलैघाट क्षेत्रमा नदी व्यवस्थापनको काम हुन सकेको छैन । वडा नं. ४ का अध्यक्ष विदुर पोख्रेलले कर्णाली नदी नियन्त्रण नहुँदा बाढी र कटान दुवैको खतरा बढेको बताए । उनका अनुसार वडा नं. ४ का करिब आधा दर्जन गाउँका घरधुरी र वडा नं. ७ सहित करिब १२ सय घर डुबानको जोखिममा छन् ।

यसैबिच सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका प्रमुख सुदिन मोक्तानले दलैघाट क्षेत्रमा स्थायी तटबन्ध निर्माणका लागि गत वर्ष विभागमा फाइल पठाइए पनि अझै स्वीकृत नहुँदा काम अघि बढ्न नसकेको जानकारी दिए ।

प्रतिक्रिया