नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत विभिन्न धर्म र समुदायबीच द्वन्द्व सिर्जना हुने खालका भ्रामक सामग्री प्रसारण हुने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरीले प्रेस विज्ञप्तिमा केही व्यक्तिहरूले संक्रमणकालीन परिस्थितिको अनुचित लाभ उठाउँदै सामाजिक सञ्जालमा विभिन्न धर्म, समुदाय र वर्गबीच वैमनस्य फैलाउने, भ्रमपूर्ण स्टाटस प्रकाशित–प्रसारित गर्ने र समाजमा अशान्ति फैलाउने खालका गतिविधि गर्दै आएको पाइएकाले यस्ता कार्य रोक्न सबैलाई सचेत गराएको छ ।
बाँकेका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दिपक पातलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालमा विभिन्न धर्म, समुदाय र वर्गबीच वैमनस्य फैलाउने, दंगा फैलाउने कार्य भइरहेको पाइएकाले उल्लिखित कार्य गर्ने, गराउने जोकोहीलाई कानुनअनुसार कारबाही हुने भएकाले समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सम्पूर्ण नागरिक र सञ्चार माध्यमलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं ।”
प्रहरीले यस्ता भ्रामक समाचार र अफवाहका कारण समाजमा अशान्ति फैलिन सक्ने भन्दै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार