नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाभारका स्थानीयले नेपाल विद्युत् प्राधिकरणविरुद्ध आन्दोलित भएका छन् । कोहलपुर–सुर्खेत (कर्णाली प्रदेश) जोड्ने १३२ केभी राष्ट्रिय प्रसारण लाइन आफ्नो बस्तीबाट लैजान लागेको भन्दै त्यसको विरोधमा नेपालगञ्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार बिहान ११ बजेदेखि उनीहरुले बानियाभार पानीट्याङ्की नजिक सडक अवरुद्ध पार्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बानियाभार बस्तीबाट उक्त प्रसारण लाइन लैँजादा एक सयभन्दा बढी स्थानीय घरबारविहीन हुने भन्दै उक्त कार्यलाई तत्काल रोकी वैकल्पिक मार्ग प्रयोग गर्न माग गरेका हुन् ।
“हामी विकासविरोधी होइनौँ, यसअघि विद्युत् प्राधिकरणले दुई तीन पटकसम्म डीपीआर गरेको छ, पहिलो डीपीआर अनुसार काम गर्ने हो भने बस्ती पनि बच्छ, क्षति पनि कम हुन्छ, हामीले पहिलेको डीपीआर अनुसार काम गर्न अवरोध गरेका छैनौँ ।” स्थानीय नगेन्द्रबहादुर शाहले भने, “खोई कस्को र के इन्टेसन हो ? बढी क्षति हुनेगरी बस्ती बिचबाटै लाइन लैजान जबरजस्ती गरिँदै छ, यहाँबाट लाइन विस्तार भएमा एक सयभन्दा बढी स्थानीयको उठीवास लाग्छ ।” उनले वस्तीको पूर्वउत्तरबाट पहिलाको डीपीआरअनुसार लाइन विस्तार भएमा मानववस्ती पनि क्षति नहुने, जङ्गलको पनि क्षति कम हुने र टावरको सङ्ख्या पनि कम लाग्ने बताए ।
अर्का स्थानीय केशव शाहले वस्तीनै हटाउने भए चलनचल्तीको दररेट दिएर स्थानीयलाई अन्त स्थानान्तरण गराउन सरकारसँग माग गरे । उनले भने, “हामीले विकासको अवरोध गरेका छैनौँ, जति पीडित जनता छन् सबैलाई स्थानीय चलनचल्तीको दररेट अनुसार मुआब्जा दिए हुन्छ, सरकारी दररेट अनुसार मूल्यांकन गरेर २० प्रतिशत मात्रै मुआब्जा दिने रे १ अनि हामी कहाँ गएर बस्ने, बालबच्चालाई कसरी पाल्ने ? सरकारले जनतालाई किन सास्ती दिन खोजेको हो ?”
“मेरो नौ कट्ठा जमिन छ, सबै जग्गा विद्युत्को प्रसारण लाइनमुनि पर्दछ, तीन भाई छोरा, बुहारी र ७ जना नातिनातिना छन्, अब सरकारले उठीवास लगाए कहाँ गएर बाँच्ने हामी ? जीवनभर दुःखले कमाइ गरेको सबै जमिन सकिन्छ । सरकारले गरेको मूल्यांकनको २० प्रतिशत मुआब्जा लिएर कहाँ गएर बस्ने ? हाम्रो वस्ती जोगाएर अन्तैबाट सरकारले लाइन लैजाओस्,” स्थानीय ६८ वर्षीया भीमकली वलीले भनिन ।
बस्तीमा तीन वटा टावर निर्माण हुने आयोजनाले जनाएको छ । केही दिनअघि बस्ती नजिकको जङ्गल क्षेत्रमा प्रहरीको सुरक्षा घेरामा कामको सुरुआत गरिएको थियो र त्यहाँ केही टावरहरु समेत निर्माण भइसकेका छन् । अब बस्तीको नजिक टावर निर्माण गर्ने क्रममा रहेको छ ।
नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका प्राविधिकका अनुसार बस्ती नजिक पर्ने सुर्खेत साइडतिरको तीन वर्षदेखिको जङ्गलमा रुख कटान गर्न रोकिएकोे विवादित काम केही दिनअघि मात्र सुरक्षाकर्मी परिचालन गरेर १७० वटा रुखहरु कटान गरी केही टावर निर्माणका काम सकिएको र बाँके साइडतिरको वस्ती नजिक पर्ने बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति सामुदायिक वन क्षेत्रमा पनि टावर निर्माण भइसकेको छ । अब बस्तीभित्र पर्ने तीन वटा टावर मात्र निर्माण हुन बाँकी छ ।
प्राविधिकका अनुसार भारतीय कम्पनी आरएस इन्फ्रा कम्पनी लिमिटेडले ७० करोड रुपैयाँ लागतमा टेण्डर पारेको थियो । हालसम्म कम्पनीसँग तीन पटकसम्म म्याद थप भइसकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार