Listen LIVE

वैकुण्ठधाम आध्यात्मिक महोत्सव आजदेखि शुरु

नेपालगञ्ज : नेपालगञ्जमा आजदेखि बैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु भएको छ । रामलिला मैदानमा सुरु भएको महोत्सवमा वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्नेछन् ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ राप्ती नदीस्थित सिधनियाघाटमा व्यवस्थित, सुविधायुक्त र आधुनिक दाहसँस्कार गर्ने घाटसहितको संरचना ’सिधनियाघाट बैकुण्ठधाम’ निर्माण गर्ने उद्देश्यका साथ वैकुण्ठधाम आध्यात्मिक महोत्सव आयोजना गरिएको हो । आध्यात्मिक महोत्सव कार्तिक ३० गतेसम्म सञ्चालन हुने मूल समारोह समितिका संयोजक डा. सुरेश कुमार कनोडियाले जानकारी दिए । 

बाँके र यस आसपासका नागरिकले वर्षौंदेखि प्रियजन र आफन्तजनको निधनपछि दाहसंस्कार गर्दा भोग्नुपरेको समस्या र दाहसंस्कारमा सहभागीहरुले ब्यहोर्नुपरेको दुःखलाई मध्यनजर गर्दै परिकल्पना गरिएको बैकुण्ठधाम निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले आध्यात्मिक महोत्सव आयोजना गरिएको संयोजक डा. सुरेशकुमार कनोडियाले बताए । कनोडियाका अनुसार महोत्सवलाई व्यवस्थित बनाउन सबै वर्ग, क्षेत्र, धर्म र समुदायलाई समेटेर २००० बढी सदस्य रहेको मूल समिति र त्यस अन्तर्गत रहने गरी ११० बढी उपसमिति गठन गरिएको छ ।

महोत्सवस्थल रामलिला मैदानबाट झाँकीसहित शोभा कलशयात्रा निकालिएको थियो । शोभा कलशयात्रा रामलिला मैदानबाट सुरु भई भेरी अस्पताल, गणेशमान चोक, विपी चोक, धम्बोजी, सेतु बिक चोक हुँदै त्रिभुवन चोक, रानी तलाउ भएर पुनः रामलिला मैदानमा पुगेको थियो । विभिन्न जातजाति, भाषा, धर्म र सम्प्रदायको झाँकीसहित कलशयात्रा गरिएको थियो ।

प्रतिक्रिया