Listen LIVE

प्याब्सन नेपालगञ्जको नगर अधिवेशन जारी

नेपालगञ्ज : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नेपालगञ्जको नगर अधिवेशन नेपालगञ्जमा भइरहेको छ । नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 

अधिवेशनलाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले अभिभावक, विद्यार्थी र शिक्षकबीच प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्यशाला गर्ने योजनामा रहेको बताए । उनले डिजिटल प्याब्सन बनाउने अभियानमा लागेको बताउँदै सबै विद्यालयलाई त्यसमा जोडिन आह्वान गरे । उपाध्यक्ष श्रेष्ठले छात्रवृत्ति ऐन परिमार्जन गराउन पहल भइरहेको बताए । 

नगर अध्यक्ष विकास बज्राचार्यको अध्यक्षतामा भएको उदघाटन सत्रमा हिसान केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरेल, प्याब्सनका लुम्बिनी प्रदेश बरिष्ठ उपाध्यक्ष ऋषिकेश जिसी, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, प्याब्सन जिल्ला अध्यक्ष यम रावत, प्याब्सन जिल्ला प्रमुख सल्लाहकार राजेन्द्र आचार्य, शिक्षक महासंघ नगर अध्यक्ष सुमोद रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

नगर उपाध्यक्ष नरेन्द्र श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव मान बहादुर थापाले गरेका थिए । उदघाटन कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । प्याब्सन नेपालगञ्जमा ५७ विद्यालय आबद्ध छन् ।

प्रतिक्रिया