नरैनापुर (बाँके) : आइतबार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको नरैनापुर ५ मटैहियाका एक दर्जन घर गोठ डुबानमा परेका छन् । बिहानैबाट भएको निरन्तरको वर्षाले गर्दा नरैनापुर ५ मटेहिया गाउँका ११ वटा घरहरु डुवानमा परेको मटेहियाका स्थानीय ज्ञान कनौजियाले बताए ।
उनले पानीको निकास बन्द हुँदा सो स्थानमा रहेका ११ जनाको घर र गोठहरुमा पानी पसेर डुबान भएको बताए । कनौजियाका अनुसार, मटेहिया ५ का स्थानीय भुजई यादव, भुसैली दर्जी, सलिम दर्जी र विनोद मौर्यलगायत ११ जनाका घरहरु डुबेर बस्न नमिल्ने भएका छन् । घर डुबानमा पर्दा खाद्यान्न तथा कपडा लत्ता भिजेर क्षति भएको भुजई यादवले बताए ।
यसैबिच हाल बाँकेमा वर्षा भइरहेकाले डुबान र बाढीको सम्भावना रहेको जनाउँदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले सचेत रहन सम्पूर्ण पालिकावासीसँग अनुरोध गरेका छन् । उनले कतैपनि डुबान र बाढी आएमा तत्काल खबर गर्न र अग्लो स्थानमा जान पनि आग्रह गरेका छन् ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेले यस वर्ष जिल्लाका १५ हजार घरपरिवार बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरेको छ । डुबान र बाढीको जोखिम कम गर्न विभिन्न उपायहरु अवलम्बन गरिएको पनि समितिले जनाएको छ ।
यसैबिच जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पनि वर्षा शुरु भइसकेकाले सचेत र तयारी अवस्थामा रहन जिल्लाका सबै आठवटै पालिकालाई अनुरोध गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार