नेपालगञ्ज : बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी एवं राजापुर नगरपालिकाको समन्वयमा मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला सम्पन्न गरेको छ ।
क्लबद्धारा सञ्चालन गरिएको “सुरक्षा परियोजना” अन्तर्गत सो कार्यशाला कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको अध्यक्षता गर्दै राजापुर नगरपालिकाकी उप–प्रमुख मनकला कुमारी चौधरीले मानव बेचबिखन विरुद्ध समुदायको प्रतिरोधात्मक क्षमता बढाउन यस्ता कार्यशालाले अहम भूमिका निर्वाह गर्ने बताइन् ।
उनले मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थित रणनीतिक योजना तयार पार्नु पर्ने आवश्यकता औंल्याइन् ।
सो कार्यशालामा वडा प्रतिनिधिहरू, महिला तथा बालबालिका शाखा, स्वास्थ्य इकाइ, तथा विभिन्न स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य सहजीकरण केशवराज कोइरालाले गरे भने सञ्चालन परियोजना संयोजक ईश्वर बिकेले गरे । फील्ड सुपरभाइजर प्रमिशा थारूले व्यवस्थापन तथा प्राविधिक सहयोग गरेकी थिइन् ।
कार्यशालाको मुख्य उद्देश्य नगरपालिका तहमा समन्वय मजबुत बनाउने, मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थित रणनीतिक योजना तयार गर्ने र समुदाय स्तरमा संरक्षण प्रणाली सुदृढ गर्ने रहेको बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द लामिछानेले बताए ।
कार्यक्रममा सहभागीहरूले समूहगत छलफलमार्फत प्राथमिक हस्तक्षेपका क्षेत्रहरू पहिचान गरेकोे, कार्यान्वयन योग्य कार्ययोजना तयार गरेको र मानव बेचबिखन विरुद्ध समुदायको प्रतिरोधात्मक क्षमता बढाउन साझा प्रतिवद्धता व्यक्त गरेको क्लबले जनाएको छ ।
कार्यशालाले मानव बेचबिखन नियन्त्रणमा नगरपालिका, समुदाय, तथा सरोकारवालाबीच एकीकृत प्रयास र दीर्घकालीन सहकार्य आवश्यक रहेको निश्कर्ष समेत निकालेको छ ।
उक्त कार्यशालाले राजापुर नगरपालिकामा सुरक्षित, सचेत र प्रतिरोधी समुदाय निर्माण गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको बाँके युनेस्को क्लबले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार