बर्दिया : गुलरिया नगरपालिका–४ इन्द्रेणी टोलमा आतंक मच्याएको ‘समस्याग्रस्त’ चितुवा नियन्त्रणमा आउन सकेको छैन । दुई सातादेखि डिभिजन वन कार्यालयले चारवटा ‘केज’ राखेको छ । चितुवाको गतिविधि अध्ययनका लागि ७ वटा क्यामरा पनि जडान गरिएको छ । तर, दैनिक देखिने समस्याग्रस्त चितुवा भने अझैसम्म वनको केजमा परेको छैन ।
मंगलबार केजमा राखिएको बाख्राको पुच्छर चितुवाले खाए पनि केजमा परेन । उक्त क्षेत्रमा चितुवा दिनदहाडै देखा पर्न थालेपछि स्थानीय खेतमा काम गर्न जानसमेत डराइरहेका छन् । चितुवाले निरन्तर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । समस्याग्रस्त चितुवाले दुई जनालाई घाइते बनाइसकेको छ भने कुकुरलगायत घरपालुवा चौपायालाई निरन्तर आक्रमण गरिरहेको छ ।
समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिन प्रयास जारी रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले बताए । ‘चितुवा दुई पटक क्यामरामा परेको छ, समात्न राखिएको केजमा पस्दैन,’ उनले भने ।
गत चैत २० गते गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सिर्जन चौधरीलाई हजुरआमासँग गुलरिया–४ इन्द्रेणी टोलस्थित खेतमा गएका बेला दिउँसै आक्रमण गरी घाइते बनाएको थियो । चैत २७ मा इन्द्रेणी टोलमै खेतमा गहुँ काटिरहेको अवस्थामा चितुवाले पछाडिबाट आक्रमण गर्दा ६५ वर्षीय बिकुलाल थारु घाइते भएका थिए । बुधबार साँझ केज राखिएको स्थानको अवलोकन गरेकी प्रजिअ रुद्रादेवी शर्माले समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिने काम भइरहेको बताइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार