Listen LIVE

महाउत समुदायलाई लोपोन्मुख अल्पसङ्ख्यक जातिमा सूचीकृत गर्न माग

नेपालगञ्ज : बाँकेमा अल्पसङ्ख्यक महाउत समुदायकी एक्ली जनप्रतिनिधि जवन्ती महाउत विभिन्न चुनौती चिर्दै समुदाय र टोल बस्तीको विकासमा खटिएकी छन् । महाउत समुदायको उत्थान र वडाको समग्र बस्ती विकासका लागि काम गर्ने आफूमा हुटहुटी भए पनि राजनीतिक खिचातानीले सोचेजस्तो काम गर्न नपाएको उनले बताइन् ।

स्थानीय तह निर्वाचन २०७९ मा जवन्ती बाँकेको डुडुवा गाउँपालिका–६ बाट महिला सदस्यमा निर्वाचित भइन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट वडा सदस्य जितेकी जवन्तीलाई उक्त पार्टीले कार्यपालिका सदस्य बनाएको थियो । कार्यपालिका सदस्य बनेपछि थुप्रै चुनौतीका बीच जवन्तीले काम गर्दै आएकी छन् ।

उनले भनिन् “हाम्रो समुदायलाई लोपोन्मुख अल्पसङ्ख्यक जातिमा सूचीकृत गर्नुपर्ने छ, मगन्ता बस्तीलगायत वडाका समग्र टोलको विकास गर्नुछ”, जवन्तीले भनिन, कार्यपालिका बैठकमा पटक पटक हाम्रो समुदाय र बस्तीको कुरा उठाएकी छु तर अहिलेसम्म सम्बोधन नभएको दुःखेसो छ ।

सूचीकृत गराएर राज्यबाट सेवा सुविधा दिलाउनु जवन्तीको प्राथमिकतामा परेको छ । जवन्तीले भनिन,“जनता आवास कार्यक्रम पारेर फुसका घरलाई विस्थापित गर्ने काम सुरु भएको छ, बाटोघाटो बनाउने, मागेर गुजारा चलाउनेहरूलाई आयआर्जनमा लगाउनु, शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउनु हाम्रो समुदायका आवश्यकता छन् ।”, उनले भनिन् “गाउँपालिकाले वडा र महाउत बस्तीका लागि बजेट तथा कार्यक्रम विनियोजन नगर्दा सोचेजस्तो काम हुन सकेको छैन ।”

मगन्ता समुदायको बस्तीमा शुद्ध पिउने पानी छैन, बस्तीमा सडक बनेको छैन । स्थानीय सरकारले मगन्ता समुदायको विकासका लागि छुट्टाएको बजेट कहाँ, कसरी, कसले खर्चिन्छ, थाहा पाउन सकेको केलाराम महाउत गुनासो गरिन् ।

अन्य लोपोन्मुख तथा सीमान्तकृत समुदाय राजनीतिक पहुँचका लागि राज्यसँग लडिरहेको समयमा आफूहरूले भने आफ्नो पहिचान समेत कायम गर्न नसकेको महाउतको भनाइ छ ।

प्रतिक्रिया