Listen LIVE

जेनजी आन्दोलन : पाँच दिनदेखि शवको पखाईमा परिवार

नेपालगञ्ज : जेनजी आन्दोलनका क्रममा काठमाण्डौमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको परिवार पाँच दिनदेखि शवको पर्खाइमा छन् । 

घटनाको पाँच दिनसम्म पनि शव ल्याउन नसक्दा अभिभावक र आफन्तजन थप पीडामा परेको वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजालले बताए । “एउटै वडाका दुई होनहार युवालाई जेनजी आन्दोलनमा गुमाउनुपर्दा सिङ्गो वडावासी शोकमा रहेको छ, यतिका दिनसम्म शवसमेत पाउन नसक्दा थप पीडा भएको छ”, वडाध्यक्ष रिजालले भने । 

नेपालगञ्ज–१ धम्बोझी निवासी १९ वर्षीय आयुष र २३ वर्षीय सुलभराजको गत २३ भदौमा जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागि ज्यान गएको थियो । फिनल्यान्ड जाने तयारीका लागि आयुष भर्खरै मात्र काठमाण्डौ गएका थिए । सुलभराज काठमाण्डौको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै थिए । वडाका दुई होनहार युवा गुमाउनुपर्दा सिङ्गो वडावासी नै शोकमा रहेको वडाध्यक्ष रिजालले बताए । 

उनका अनुसार घटनाको जानकारी पाउनासाथ आयुषका बुवा सुशील थापा र सुलभराजका बुवा नरेन्द्र श्रेष्ठ काठमाण्डा पुगे पनि छोराको शव घर ल्याउन सकेका छैनन् । छोराको शव घर लैजान नपाउँदा पीडामाथि थप पीडा थपिएको नरेन्द्रले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । 

नेपालगञ्ज–१ नम्बर वडा कार्यालयले गत २४ भदौमा शोक विज्ञप्ति जारी गरी मृतकलाई श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो । नेपालगञ्ज–१ का सुलभराज र आयुषको पार्थिव शरीरको आवश्यक मुचुल्का प्रक्रिया सम्पन्न भइसकेकोले अब छिट्टै आउने आशा गरिएको वडाध्यक्ष रिजालको भनाइ छ ।

प्रतिक्रिया