यदुराज मिश्र/नेपालगञ्ज : गत पाँच दिनदेखि निरन्तर शीतलहर चलेर अत्यधिक चिसो भइरहँदा बाँकेसहित तराई क्षेत्रको जनजीवन कष्टकर बनेकोे छ । यहाँ रातदिन नै लगातार शीतलहर चलेर कठ्याङग्रिदो चिसो हुँदा बालबालिका, वृद्धवृद्धा, अशक्त र दीर्घरोगी बढी प्रभावित भएका छन् ।
गत शुक्रवारदेखि हुस्सु, कुहिरोसहित शीतलहर चलेर अत्यधिक जाडो बढ्दा जनजीवन प्रभावित बनेको हो । बिहान–बेलुका चिसो छल्न मानिसहरु घर, चोक, चौतारा र बजारमा आगो तापेर बसिरहेका छन् ।
न्यानो कपडा नभएका विपन्न, दलित तथा सीमान्तकृत परिवार भने कठ्याङग्रिएर बस्न बाध्य छन्, तर चिसो प्रभावितलाई न्यानो प्रदान गर्न स्थानीय पालिकाहरु, जिल्ला विपद् व्यवस्थापन समितिलगायत अन्य सरोकारवाला निकायले कुनै चासो देखाएका छैनन् । हुस्सु, कुहिरोका कारण तोरी, आलु, रहर, चनालगायतका बाली प्रभावित हुने भन्दै किसान चिन्तित बनेका छन् ।
चौपाय र पन्क्षीसमेत चिसोबाट अत्यन्त प्रभावित बनेका छन् । दिउँसोपख मौसम केही उघ्रिने गरे पनि चार दिनदेखि घाम नलाग्दा सरसफाईसहित अन्य काम प्रभावित भएको स्थानीयको भनाई छ ।
चिसोका कारण अत्यावश्यक काम परेर विभिन्न ठाउँमा पुग्नुपर्नेहरु प्रभावित बनेका छन् ।
बाक्लो हुस्सु लागेर नजिकैको दृश्यसमेत प्रष्टसँग नदेखिने भएपछि सवारी साधनहरु दिउँसै पनि बत्ती बालेर गुडिरहेका छन् । अहिलेको मौसममा चिसोजन्य स्वास्थ्य समस्या देखिनसक्ने भएकाले बालबालिका, वृद्धवृद्धासहित सबै वर्गका मानिस न्यानो भएर बस्न–बसाउन र झोलिला तथा तातो खानेकुरा खान–खुवाउन चिकित्सकले सुझाव दिएका छन् ।
चिसोका कारण बाँकेका अस्पतालहरुमा दम, खोकी, निमोनिया, ज्वरोलगायतका विरामीहरु बढ्दै गएका छन् । अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन विज्ञहरुले आग्रह गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार