नेपालगञ्ज : कोहलपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण वडाका अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग (हात, खुट्टा र क्यालिफरलगायतका सहायक सामग्री) जोड्नका लागि भारत लगेको छ । नगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण उपशाखाले नगरका सबै वडाबाट छनोट गरेर कृत्रिम अङ्ग हाल्नुपर्ने शारीरिक अपाङ्गता भएका नागरिकलाई बुधबार भारत लगेर गएको हो ।
महिला विकास निरीक्षक तथा अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग जोड्ने कार्यक्रमकी संयोजक तारा भण्डारीले बुधबार चार जना कर्मचारी तथा समन्वयकर्ता र १९ जना अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग जोड्नका लागि भारतको जयपुर लगेको बताइन् ।
उनले हात र खुट्टामा कृत्रिम अङ्ग हालिने र हिँड्न नमिल्ने कमजोर खुट्टालाई सहायता दिएर हिँड्न मिल्ने गराउनका लागि क्यालिफर हालिने गरेको बताइन् । उनका अनुसार यस पटक कृत्रिम खुट्टा पाँच जना, कृत्रिम हात चार जना, क्यालिफर सात जना, ह्विलचेयर एक जना र एएओ (पैताला नभएकालाई जुत्ता जस्तो अङ्ग) दुई जना गरी १९ जना शारीरिक अपाङ्गता भएका नागरिकलाई भारत लगिएको छ ।
कोहलपुर नगरपालिकाका उपप्रमुख एवं स्थानीय अपाङ्गता समन्वय समिति संयोजक सङ्गीता सुवेदीले विगत तीन वर्षदेखि नगरपालिकाले नगरभित्रका सबै वडामा शारीरिक अपाङ्गता भएका व्यक्तिको पहिचान गर्न शिविर सञ्चालन गरेर व्यक्ति छनोट गर्दै आएको जानकारी दिइन् ।
उपप्रमुख सुवेदीले भनिन, “सबैभन्दा पहिलो वर्ष १९–२० जना र गत वर्ष १८ जनालाई भारत लगेर कृत्रिम अङ्ग जोडिदियौँ र यस वर्ष १९ जना व्यक्तिलाई पठाएका छौँ ।”
उनले कोहलपुर नगरपालिकाले तीन वर्षअघिदेखि यो कार्यक्रम सुरु गरेको जानकारी दिइन् । उनले दीर्घकालीन रूपमा टिकाउ हुने भएका कारण पछिल्लो समय कृत्रिम अङ्गको माग बढिरहेको बताइन् । उनले कोहलपुरको सिको गर्दै अहिले बाँकेका अन्य पालिकाले पनि अपाङ्गता भएका व्यक्तिको पहिचान गरी भारत लगेर कृत्रिम अङ्ग हाल्ने काम गर्दै आएको पनि जानकारी दिइन् । नगरपालिकाकै खर्चमा उनीहरूलाई भारत लैजाने, बसाल्ने, खुवाउनेलगायतका आवश्यक सहायक सामग्री प्रदान गरिँदै आएको बताइन् ।
उनले अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका नागरिकलाई राज्यले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरेको र ‘ग’ र ‘घ’ वर्गका अपाङ्ग नागरिकलाई सामाजिक सुरक्षा प्रदान नगर्ने भएका कारण ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका नागरिक आफ्नो छनोटमा पर्ने गरेको बताइन् ।
उनले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका नागरिकका लागि सहायक सामग्री प्रदान गर्ने मात्रै नभएर नगरपालिकाले आत्मनिर्भर तथा स्वरोजगार बनाउनका लागि बेकरी बनाउने तालिमदेखि विभिन्न आयमूलक तथा सिपमूलक तालिम प्रदान गर्दै आएको बताइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार