Listen LIVE

बाँकेसहित देशभरि गोरुगाडा लोप हुने अवस्थामा

यदुराज मिश्र/नेपालगञ्ज : बाँकेमा दशकअघिसम्म अस्तित्वमा रहेको गोरुगाडा यतिबेला लोप हुने अवस्थामा पुगेको छ । कुनै सयम यातायातको साधन र सामान ओसार पसार गर्ने एउटा महत्वपूर्ण साधनको रूपमा रहेको गोरुगाडा बाँकेमा कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण भएसँगै लोप हुने अवस्थामा पुगेको हो । 

केहीले प्रविधिको प्रयोगले गोरुगाडा हराएको दाबी गर्दै आएका छन् भने केहीले पच्छिल्लो समय स्थानीय जातको गाईपालन कम भएसँगै गोरुगाडा पनि लोप हुँदै गएको बताउँछन् । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका किसान बंशीलाल मौर्यले आधुनिक कृषि यन्त्रका साथै सवारी साधन आएसँगै गोरुगाडाको औचित्य समाप्त भएको बताए । 

कुनैबेला गोरुगाडा नै गोरुगाडा देखिने गाउँमा अहिले विरलै देखिने भएकाले बालबालिहरूका हेर्न उत्साहित भएको उनले बताए । उनले दुईदशक अघिसम्म प्रायः सबैको घरमा एउटा, दुई वटा गोरुगाडा रहेकोमा अहिले गाउँभरीमा एउटा गोरुगाडा मात्र रहेको बताए । पहिलापहिला घर काममा ओसार्नेदेखि अनाज ल्याउन मात्रै नभई विरामीलाई अस्पताल पुर्याउन एम्बुलेन्सको काम पनि गर्ने साधनको रूपमा रहेको बैलगाडा (गोरुगाडा) अहिले देखिन छाडिसकेको छ ।

अर्का स्थानीय लखन यादवले गोरुगाडाबाट पराल लिएर घर तर्फ जाँद हेर्नका लागि बालबालिकाहरूको भिड लागेको बताए । 

उनका अनुसार विगतमा खासगरी कृषि पेशामा आधारित किसानहरू कृषिकर्ममा गोरु र काठबासको प्रयोग गरी बनाएको गोरुगाडा पच्छिलो समयमा ट्र्याक्टर अर्थात प्रविधिको प्रयोग बढदै गएपछि गोरुगाडाको प्रयोग घटदै जाँदा लोपोन्मुख अवस्थामा पुगेको छ । स्थानीय किसानहरूले भने कुनै समयमा बिरामी ओसार्नेदेखि, जन्म, विवाहमा जन्ती जाने, मृत्युको बेला मलामी जाने, मेलापात, हाट बजारसँगै कृषि कर्ममा ओसारपसार गर्ने तथा आवतजावत साधानको रूपमा गोरुगाडाको प्रयोग गरिन्थ्यो तर अहिले देखिन छाडिसकेको बताएका छन् । 

यसैबिच अर्कोतर्फ गोरु अभाव र थ्रोसर सहितको उपकरणले गर्दा विगतमा किसानले गोरु घुमाएर दाइँ लगाउने, धान स्याहार्ने काम पनि हराउँदै गएको छ । किसानहरू एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भएपनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । यहाँ पछिल्लो समय गोरुको सहायताले गरिने दाइँ संस्कृति लोप भएको छ । गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँँ संस्कृति हराउँदै जान थालेको हो ।

प्रतिक्रिया