Listen LIVE

बाँके, बर्दिया र दाङमा बाघ गणनाको तयारी

बर्दिया : यस वर्ष पहिलोपटक थप एकसहित ५ वटा ब्लक राखी बाघ गणना गरिने भएको छ ।

बाँके, बर्दिया राष्ट्रिय निकुञ्जमा दुई–दुई र दाङमा थप एक गरी ५ वटा ब्लक राखिने राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाले जनाएको छ । बाँके निकुञ्जमा दाङको केही भाग पर्ने भएकाले थप एक ब्लक राखिने कोषका बर्दिया प्रमुख अजित तुम्फाहाम्फेले बताए ।

पुस पहिलो साताबाट बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको गणना गरिने भएको छ । बाघ गणनाका लागि क्यामरा काठमाण्डौबाट शनिबार बेलुकीसम्म आइपुग्ने कोषका प्रमुख तुम्फाहाम्फेले जनाए । क्यामेरा ट्रापिङ प्रविधिबाट गणना गरिने बर्दिया निकुञ्जले जनाएको छ । बाँके, दाङ, बर्दिया निकुञ्ज र आसपास गरी करिब ४ सय ५० क्यामरा आवश्यक पर्छ । बाघको गणना चितवन–पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझारी कम्प्लेक्समा हुने राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ । बाँके, बर्दिया र दाङमा एकै साथ ब्लक बनाई गणना गरिने भएको हो ।

निकुञ्जमा हरेक चार वर्षमा बाघको गणना हुने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र विश्व वन्यजन्तु संरक्षण कोष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संयुक्त प्राविधिक टोलीले क्यामरा ट्रापिङको सहयोगमा गणना गरिने भएको छ । निकुञ्ज बाहेक खाता जैविक मार्ग र आसपासका क्षेत्रमा बाघको गणना हुने भएको छ । बाघ गणनाका लागि खटिने प्राविधिक टोलीलाई मंसिर अन्तिम साताबाट प्रशिक्षण दिने भएको बर्दिया निकुञ्जका प्रमुख अशोक रामले बताए ।

मुलुकभर बाघ गणनाका लागि ३ करोड खर्च लाग्ने अनुमान राष्ट्रिय निकुञ्ज विभागको छ । करिब सय वर्षअघि विश्वमा बाघको संख्या १ लाख हाराहारीमा थियो। एक दशकअगाडि सम्म बाघको संख्या ३ हजार २ सयमा सीमित भएपछि विश्वमा यसको संख्या दोब्बर बनाउने लक्ष्यसहित सन् २०१० नोभेम्बरमा रुसको सेन्ट पिटर्सबर्गमा भएको भेलाले निर्णय गरेको थियो । सोहीअनुसार नेपालले बाघको संख्या दोब्बर बनाउन सफल भएको छ ।

बर्दियामा आठ वर्ष अघि गरिएको गणनामा ८७ बाघ थिए । चार वर्षअघि १ सय २५ पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

प्रतिक्रिया