Listen LIVE

नेपालगञ्ज–नानपारा प्रसारण लाइनका लागि जग्गा अधिग्रहण शुरु

नेपालगञ्ज : नेपालगञ्ज–नानपारा १३२ केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बाँके जिल्लामा जग्गा अधिग्रहण प्रक्रिया औपचारिकरूपमा शुरू भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक सूचना जारी गर्दै जानकी गाउँपालिका–५ स्थित निर्माणाधीन १३२ केभी सबस्टेशनबाट खजुरा गाउँपालिका–३ र ४ हुँदै जानकी गाउँपालिका–१, २, ३, ४, ५ र ६ सम्म प्रसारण लाइन निर्माण गर्नुपर्ने भएकाले मार्गाधिकारभित्र पर्ने टावरका लागि आवश्यक जग्गा स्थायी रूपमा प्राप्त गर्न प्रक्रिया अघि बढाइएको जनाएको छ ।

जानकी गाउँपालिकाका साविक साइगाउँ, बेलभार, इन्द्रपुर, खजुरा खुर्द, बेल्हरी, गनापुर तथा खजुरा गाउँपालिका–३ र ४ (साविक बागेश्वरी गाविस) क्षेत्रमा पर्ने जग्गामा टावर स्थापनाका क्रममा घर, टहरा, पर्खाल, बालीनाली, रुखबिरुवा तथा अन्य संरचनाको मूल्यांकन गरी क्षतिपूर्तिको प्रक्रिया थालिएको प्रशासन कार्यालयले जानकारी दिएको छ ।

जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९, १० र ११ बमोजिम मुआब्जा निर्धारण तथा दाबी प्रक्रिया अघि बढाइने उल्लेख गर्दै सूचनामा पहिलोपटक सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र हकदाबीका प्रमाणसहित रितपूर्वक निवेदन दिन सरोकारवालालाई आग्रह गरिएको छ ।

सूचना अनुसार तोकिएको समयभित्र निवेदन नपुगेमा प्रचलित कानुन अनुसार प्रक्रिया अघि बढाइने कार्यालयले स्पष्ट पारेको छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको र स्थानीय सरोकारका विषयमा कानुनी प्रक्रिया अनुसार समन्वय जारी रहने जनाएको छ ।

प्रतिक्रिया