नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा ११ का पुरमल बस्नेत विगत १५ वर्षदेखि विभिन्न किसिमका लोपोन्मुख कठ्यौरी, भमरा, पुत्का, कुमालकोटी तथा माहुरी प्रजातिका कीराहरूको संरक्षणमा जुट्दै आएका छन् ।
२०६७ सालमा दुई वटा माहुरीको घारबाट माहुरीपालन सुरु गरेका पुरमलले पछिल्ला वर्षहरुमा लोप हुन लागेका कठ्यौरी, भमरा, पुत्का, कुमालकोटी तथा माहुरी प्रजातिका कीराहरूको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्दै आएका हुन् ।
“म नेपाली सेनाको जागिरे, २०६५ सालमा सेनाबाट निवृत्त भएँ, त्यसपछि बाँकी जीवन अब के गर्ने भन्ने मनमा खेलिरहेको थियो, कताबाट माहुरीपालन गर्नेतर्फ सोँच आयो, २०६५ सालमा दुई घार माहुरीबाट यो पेसामा लागेँ ।” पुरमलले भने, “केही समयपछि व्यावसायिकरूपमा माहुरीपालन सुरु गरेँ, पछि माहुरी प्रजातिका बारेमा बुझ्दै गएँ, जान्दै गएँ, सिक्दै गएँ र कठ्यौरी, भमरा, पुत्का, कुमालकोटी तथा माहुरी प्रजातिका कीराहरूको बारेमा जानेँ । त्यसपछि यी किराहरुको महत्त्व थाहा पाएर संरक्षमा जुटेँ ।”
पुरमलले कठ्यौरी, भमरा, पुत्का, कुमालकोटी तथा माहुरी प्रजातिका किराहरूको संरक्षण गर्न विभिन्न तीन ठाउँमा यसको वासस्थान बनाएर संरक्षण गरेका छन् । कोहलपुर १२ स्थित सिर्जना सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्र, आफ्नो घरको छत र निजी खेतमा वासस्थान बनाएर यी कीराहरूको संरक्षण गर्दैआएको उनी बताउँछन् ।
“सामुदायिक वनको १० कट्ठा जमिन १५ वर्षसम्मका लागि ल्याएको छु, नजिकै रहेको निजी दुई कट्ठा जमिन प्रयोग गरेको छु । घरको छतमा पनि यसको वासस्थान बनाएर संरक्षण गरिरहेको छु ।” उनले भने, “सामुदायिक वनले लोपोन्मुख प्रजातिका कीराहरूको संरक्षणमा जुटेको भनेर भाडा लिएको छैन, निःशुल्क जग्गा उपलब्ध गराएको छ ।”
पुरमलसँग अहिले तराई रैथाने घर माहुरी (सेरेना) १५ घार, पुत्का ५० घार, भमरा (कालो र पाटे) करिब १०० वटा, कठ्यौरी ४–५ घार र दर्जनौँ कुमालकोटी तथा व्यावासयिक रूपमा सञ्चालन गरेको ‘मेलिफेरा’ प्रजातिका एक सय बढी घार माहुरी रहेका छन् ।
“जैविक विविधतामा विभिन्न छ वटा तत्वहरू रहेका छन्, कृषि तथा जैविक विविधता संरक्षणका लागि अन्नबाली, वनस्पती, पशुपक्षी, किट, शुक्ष्म जिवाणु र जलीय कुण्ड जोगाउनु महत्त्वपूर्ण हो” उनले भने, “यी एकअर्कामा परिपूरक छन्, सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ, यी सबैलाई संरक्षण गर्नुपर्छ ।”
कठ्यौरी, भमरा, पुत्का, कुमालकोटी तथा माहुरी प्रजातिका कीराहरू सङ्कटमा परेको उल्लेख गर्दै उनले यसले वातावरणीय सन्तुलन कायम गर्न योगदान गर्ने बताए । “जैविक विविधताका लागि यी कीराहरूलाई जोगाइराख्न जरुरी छ, लोप हुन दिन हुँदैन, एउटा व्यक्तिले मात्र प्रयास गरेर हुँदैन, सरकारले आफैँले पहल गर्न जरुरी छ” उनले भने ।
पुरमलले यिनीहरूलाई संरक्षण गर्न तिनै ठाउँमा काठका मुढाहरूमा कृत्रिम वासस्थान बनाइदिएका छन् । कुनै चारपाटे त कुनै गोला काठका मुढाहरुमा प्वाल पारेर पुत्का, भमरा, कठ्यौरी तथा कुमालकोटीका लागि उहाँले घर बनाइदिएका छन् । यी प्रजातिको संरक्षण, सम्वर्धन तथा प्रवर्धन मात्र नगरेर उनी पछिल्लो समयमा पर्यटन व्यवसायसँग जोडिएका छन् ।
“मैले मेरो घर दुई ठाउँको फर्ममा मात्र यी प्रजातिको संरक्षण गरेको छैन, समुदायमा पनि मैले यसको महत्त्व बारेमा बुझाएको छु, विभिन्न विद्यालय र गाभर भ्याली होमस्टेमा समेत अहिले यी प्रजातिको संरक्षण भइरहेको छ” उनले भने, “गाभर भ्याली होमस्टेमा सामुदायिक जिन बैङ्क सञ्चालन भएको छ, जहाँ आन्तरिक तथा वाह्य पर्यटक अवलोकन भ्रमण गर्न आउनुहुन्छ, जसका कारण आयआर्जन हुन्छ र पर्यटन व्यवसायमा पनि वृद्धि हुँदैआएको छ, त्यहाँ एग्रो टुरिजमको काम भएको छ ।”
उनले कोहलपुरका विभिन्न तीनवटा विद्यालयमा समेत यी प्रजातिको संरक्षण हुनुका साथै विद्यार्थीले यस बारेमा जान्ने र सिक्ने मौका पाइरहेको बताए ।
उनले भमरा पनि लोप हुन लागको भन्दै त्यसको संरक्षण गर्न थालेको बताए । उनले जैविक विविधताका लागि भमराबिना परागसेचन नहुने बताउँदै अन्य धेरै रैथाने जातका किट जोखिममा रहेको उल्लेख गरे । उनले लोमोन्मुख माहुरी, भमरा, पुत्का, कुमालकोटी, कठ्यौरी लगायतका लागि किट पाठशाला बनाउन आवश्यक रहेको बताए ।
उनले धेरै रैथाने प्रजातिका किटको वासस्थान नासिएको भन्दै यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । मानिसको क्रियाकलापले वातावरणीय सन्तुलन बिग्रँदा त्यसको असर माहुरी लगायतका किटमा पनि परेकाले जैविक विविधताको संरक्षण सबैको दायित्व भएको उल्लेख गरे ।
उनका अनुसार २०७८ सालमा राष्ट्रिय बिउ बैङ्कले नेपालमै पहिलो पटक ‘पुरमल घरायसी किट जिन बैङ्क’ नामकरण गरेको छ । उनले किटको मात्र संरक्षण नगरेर बोटबिरुवा जोगाउने अभियानसँगै विभिन्न रैथाने जातका बिउहरुको समेत संरक्षण र सम्वर्धन गर्दै आएका छन् ।
देशका विभिन्न स्थानबाट विद्यार्थी, कृषि, वातावरण लगायतका सम्बन्धित विज्ञहरू संरक्षित किटहरूको अध्ययन, भ्रमण तथा अवलोकनका लागि आउने गरेको उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार