नेपालगञ्ज : नेपालगञ्जमा हावाहुरीले वितण्डा मच्चाएको छ । पोलहरू ढालेपछि नेपालगञ्जलगायत आसपासका क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । नेपालगञ्जमा बुधबार राति करिब ९ बजेतिर ठुलो हावाहुरीसँगै वर्षा भएको थियो ।
विद्युत सेवा अवरुद्ध हुँदा बिहीबार रातभर नेपालगञ्ज क्षेत्र अन्धकार बन्यो । हावाहुरीले जिल्लाका विभिन्न स्थानमा घर तथा टहरामा पनि क्षति पुर्याएको छ । अधिकांश ठाउँमा टिनका छाना पनि उडाएको छ । यस्तै किसानले भित्र्याउन लागेको गहुँ, मसुरो, अरहर लगायत बालीनालीमा पनि हावाहुरी र वर्षाले असर गरेको छ । हावाहुरी र वर्षा अझै पूर्ण रूपमा रोकिएको छैन ।
हावाहुरी र वर्षाका कारण हवाई सेवा समेत प्रभावित बन्न पुगेको छ । हावाहुरी र वर्षा नरोकिँदा विद्युत सेवा सञ्चालन गर्न कठिनाइ भएको छ । हावाहुरीले ३३ केभी प्रसारण लाइनको पोल तथा टावरहरूमा क्षति पुगेकाले विद्युत सेवा अवरुद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ ।
केन्द्रले सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । केन्द्रद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपालगञ्ज लगायतका विभिन्न स्थानमा हाम्रा विद्युत सेवाहरू प्रभावित हुन गएको जानकारी गराउन चाहन्छौँ, सेवा प्रवाहमा असर पुग्न नदिन हर सम्भव प्रयास पनि जारी रहेको छ ।’ हावाहुरीले नेपालगञ्जको चारलेन सडकका ग्रिनबेल्टमा रोपिएका रुख, विरुवा पनि ढालेको छ । केहीदिन अघि फुलेका फुलका बोटहरु सडकमा ढलेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार