Listen LIVE

वैदेशिक रोजगारीमा गएका बाँकेका १०३ जना समस्यामा

नेपालगञ्ज : वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका बाँकेका १०३ नागरिक समस्यामा रहेका पाइएको छ । चालु आर्थिक वर्षको हालसम्म १०३ जना व्यक्तिले विभिन्न समस्यामा परेर निवेदन दर्ता गराएका छन् । 

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका जिल्ला संयोजक कमलसिंह नेपालीले चालु आवको हालसम बाँकेबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नागरिकले निवेदन दर्ता गरेका जानकारी दिए । उनले जिल्लाका नेपालगञ्ज उपमहानगरपालिकाका ३४, कोहलपुर नगरपालिकाका २५, वैजनाथ गाउँपालिकाका १५, खजुराका १३, जानकीका आठ, नरैनापुरका एक, डुडुवाका पाँच र राप्तीसोनारीका दुई गरी १०३ व्यक्ति समस्यामा परेर आप्रवासी स्रोत केन्द्रमा निवेदन दर्ता गराएको बताए ।

उनका अनुसार हालसम्म ४२ वटा समस्या समाधान भएको र ६१ वटा प्रक्रियामा छन् । समाधान भएका निवेदनमार्फत सामीले एक करोड ३५ लाख ४३ हजार पाँच सय रुपैयाँ बराबरको आर्थिक सहायताका लागि सहजीकरण गरेको छ ।

गत आव २०८०।८१ सम्ममा जिल्लाका विभिन्न पालिकाबाट वैदेशिक रोजगारीमा गएका ४२५ जनाले आफू समस्यामा परेको भन्दै स्रोत केन्द्रमा निवेदन दर्ता गराएका थिए । कार्यक्रम संयोजक नेपालीले तीमध्ये २५१ वटा समस्या समाधान भएको र १७८ वटा निवेदन प्रक्रियामै रहेको बताए । 

गत आवसम्ममा सामीले छ करोड ९७ लाख ६२ हजार २५८ रुपैयाँ बराबरको आर्थिक सहायताका लागि सहजीकरण गरेको थियो । उनले गत वर्षसम्ममा ३३ हजार ६३९ जना व्यक्तिलाई सूचना तथा परामर्श सेवा प्रदान गरिएको र चालु आवको हालसम्ममा १४ हजार १५० जनालाई सेवा प्रदान गरिएको बताए । 

उनले पर्याप्त सूचना अभावका कारण विदेशमा मृत्यु भएका, घाइते भएका तथा घरमा रहेका उनीहरूका घरपरिवारले प्राप्त गर्ने सेवा सुविधाबाट अधिकांश व्यक्ति वञ्चित हुँदै आएकामा सूचनाको पहुँच पुगेपछि सेवा सुविधा लिने नागरिक बढ्दै गएका बताए । 

नेपालमा आव २०६८।६९ बाट सुरु भएको सामी कार्यक्रमको तीन चरण सम्पन्न भइसकेका छन् भने यो चौथो चरणको पहिलो वर्ष हो । बाँकेमा यो कार्यक्रम आव २०७५।७६ बाट सुरु भएको थियो । कार्यक्रम सुरु भएयता जिल्लाका आठ पालिकामध्ये चार पालिकामा सामीले विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो भने चालु आवमा थप दुई पालिकामा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया