Listen LIVE

जीवन ज्योतिका विद्यार्थीले गरे बृद्धाश्रमलाई सहयोग

नेपालगञ्ज : बाँकेको कोहलपुर–१० रामनगरमा रहेको जीवन ज्योति स्कुलका कक्षा ५ का विद्यार्थीहरूले आफ्नो खाजा खर्च बचाएर एक हृदयस्पर्शी कार्य गरेका छन् । उनीहरूले नेपालगञ्जस्थित नीलसागर वृद्धाश्रममा पुगेर त्यहाँ बसोबास गरिरहेका वृद्ध आमा–बुबालाई खाना खुवाएका छन् र साथै २५ हजार रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरेका छन् ।

विद्यालयका शिक्षक आनन्द लम्सालका अनुसार विद्यालयले विद्यार्थीहरूमा मानवता, करुणा र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । “हामीले विद्यार्थीहरूलाई पुस्तकमै सीमित नराखी समाजका कमजोर वर्गप्रति दायित्वबोध गराउने प्रयास गरेका हौँ,” उनले भने ।

जीवन ज्योति स्कुलले शैक्षिक गुणस्तरसँगै सामाजिक सेवामा पनि उल्लेखनीय योगदान दिँदै आएको छ । विद्यालयका विद्यार्थी भाइबहिनीहरूले वृद्धाश्रममा पुगेपछि आमा–बुबासँग आत्मीय संवाद गर्दै माया र सम्मानका शब्द बाँडेका थिए । वृद्धाश्रमका संरक्षक डा.सरिता निलसागरले बालबालिकाको यो मानवीय पहलप्रति धन्यवाद व्यक्त गर्दै भनिन, “यी साना बालबालिकाबाट सिक्न सकिने ठूलो कुरा हो—मायाले भरिएको समाज बनाउन हरेकले आफ्नै ठाउँबाट सुरु गर्नुपर्छ ।”

यस्तै विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले विद्यालयले आगामी दिनमा पनि अरू कक्षाका विद्यार्थीहरूलाई पनि सामाजिक उत्तरदायित्वका कार्यक्रममा सहभागी गराउने योजना बनाएको जनाए ।

जीवन ज्योति स्कुलको यो पहलले शिक्षा र मानवीयताको सुन्दर संगम प्रस्तुत गरेको छ ।

प्रतिक्रिया