Listen LIVE

अपांगता भएका व्यक्तिलाई कृत्रिम अंग र सहायक सामग्री वितरण

राप्तीसोनारी (बाँके) : बाँकेको राप्ती सोनारी गाउँपालिकामा अपांगता भएका ४१ जना व्यक्तिलाई कृत्रिम अंग र सहायक सामग्री वितरण गरिएको छ।

गाउँपालिकाको आयोजनामा विकलाङ्क मित्र समूह, अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा काभ्रे र लुम्बिनी प्रदेश पुनःस्थापना केन्द्र कोहलपुरको प्राविधिक सहयोगमा सामग्री वितरण गरिएको हो।

गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल र उपाध्यक्ष मनिषा सिंह थारुले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा ११ वटा अर्थोसिस, १ वटा प्रोस्थेसिस र ७ वटा ह्वीलचेयर वितरण गरिएको जनाइएको छ।

अध्यक्ष पौडेलले गाउँपालिकामा अपांगता भएका व्यक्तिहरूको संख्या उल्लेख्य रहेकाले प्राथमिकताका आधारमा पालैपालो सहयोग प्रदान गर्दै आएको जानकारी दिए। उनले अपांगता भएका व्यक्तिहरूको जीवन सहज बनाउन गाउँपालिका निरन्तररूपमा सहयोगमा सक्रिय रहेको बताए।

प्रतिक्रिया