Listen LIVE

ब्राउन सुगरसहित बर्दियामा ३ जना पक्राउ

बर्दिया : बर्दिया प्रहरीले ब्राउन सुगरसहित ३ युवकलाई नियन्त्रणमा लिएको छ । जिल्लास्थित बढैयाताल गाउँपालिका–२ फुटाहबाट १ सय ७० मिलिग्राम ब्राउन सुगरसहित रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ का २३ वर्षीय अमित बहादुर कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

कार्कीलाई प्रहरी चौकी जमुनी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको संयुक्त टोलीले भारतबाट ब्राउन सुगर लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ । 

त्यसैगरी बर्दियाकै बढैयाताल गाउँपालिका–७ कर्णालीपुरबाट ३ सय २० मिलिग्राम  ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बर्दिया प्रहरीका अनुसार  पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–८ पिपिरीका २२ वर्षीय कमल शाही र २४ वर्षीय सागर शाही रहेका छन् । 

उनीहरु दुबै जनालाई इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले  भे१२ प ६८२९ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

ब्राउन सुगरसहित बिहीबार साँझ पक्राउ परेका तीनै जनालाई आज बर्दिया जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया