Listen LIVE

छाउपडी गोठ भत्काउन उर्दी

धनगढी : छाउपडी गोठमा बसेको बेला विषालु सर्पको टोकाइबाट एक महिलाको ज्यान गएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउपडी गोठ भत्काउन उर्दी जारी गरिएको छ । 

पालिकाको केही वडामा अझै पनि छाउपडी प्रथा कायम रहेको भन्दै नगरपालिकाको कार्यालयले १५ दिनभित्रै त्यस्ता गोठ भत्काउन उर्दी जारी गरेको हो । छाउपडी गोठमा बसेको बेला शुक्रबार राति सर्पले डसेपछि कृष्णपुर नगरपालिका–१ की २८ वर्षीया कमला आउजी दमाईको ज्यान गएको थियो । 

महिलाको अकालमै ज्यान गएपछि नगरपालिकाको कार्यालयले सबै वडा कार्यालयलाई छाउपडी गोठको निरीक्षण गरी भत्काउन आदेश दिएको छ । गोठ नभत्काउनेलाई कानुनी कारबाहीसहित १० हजार रुपैयाँ जरिवाना हुने प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया