Listen LIVE

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते

दाङ : दाङमा बस दुर्घटना हुँदा घटनास्थलमा ज्यान गुमाएकी महिलाको परिचय खुलेको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ झिङ्गनी निवासी ३५ वर्षीया पुष्पा नेपाली रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । उनको घटनास्थलमा बसले च्यापिएर मृत्यु भएको थियो ।

कृष्णनगरबाट तुलसीपुर जाँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका–५ लठ्हवा नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

एक जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । दुर्घटनामा परेर १५ जनाभन्दा बढी घाइते भएका छन् ।

दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादवको उपचारको क्रममा मृत्यु भएको थियो । घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रत्यक्षदर्शी बताए । कृष्णनगर नजिक रहेको भारतीय बजारमा किनमेल गरेर फर्किंदै गरेकाहरु बसमा सवार थिए । १३ जनालाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ भने दुई जना प्राथमिक उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया