Listen LIVE

बाँकेको बैजनाथ ४ बाट भूमिहीनलाई निस्सा वितरण शुरु

बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण कार्यक्रम सुरु गरेको छ। वडा न–४ का अध्यक्ष प्रेम बहादुर शाहीको अध्यक्षतामा वडा कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले निस्सा वितरण कार्यक्रमको शुभारम्भ गरे।

वडा सचिव तिलक खत्रीका अनुसार, वडा न–४ मा कुल एक हजार तिन सय १७ जना स्थानीयलाई निस्सा वितरण गरिने भएको छ।

कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश शाहीले बैजनाथ गाउँपालिका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पक्षमा रहेको बताए। उनले निर्वाचनमा गरेका वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “हामीले चुनावमा गरेका वाचा पूरा गरेका छौँ ।”

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोगले विभिन्न नियमावली तथा कार्यविधिहरू तयार पारेको छ। यसमा ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन सम्बन्धी कार्यविधि, २०८१’ र ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८१’ लगायतका नियमावलीहरू रहेका छन् । 

यसका साथै, ‘भूमि सम्बन्धी नियमहरू, २०२१’ ले भूमिसम्बन्धी व्यवस्थापन र वितरण प्रक्रियालाई स्पष्ट पारेको छ। यी नियमावली र कार्यविधिहरूले भूमिहीन तथा सुकुम्वासीहरूको पहिचान, प्रमाणीकरण, जग्गा उपलब्ध गराउने प्रक्रिया तथा व्यवस्थापनका लागि मार्ग निर्देशन प्रदान गर्छन् ।

कार्यक्रममा उपाध्यक्ष निर्मला रोकाय, राष्ट्रिय भूमि आयोग बाँके जिल्ला सदस्य केशब कुमार शाह, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने लगायत स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि र स्थानीयहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया