Listen LIVE

होली पर्व मर्यादामा रही सभ्यरुपमा खेल्न बाँके प्रहरीको अनुरोध

नेपालगञ्ज : होली पर्व मनाउने बहानामा कसैमाथि इच्छाविपरीत लोला हान्ने, रंग दल्ने काम नगर्न जिल्ला प्रहरी कार्यालय बाँकेले सबैमा आग्रह गरेको छ । चाडपर्वका बहानामा अत्याधिक मादक पदार्थको सेवन, अमर्यादित तथा उच्छृंखल कार्यका साथै हो–हल्ला र चर्को साउण्ड सिस्टमको प्रयोग नगर्न बाँके प्रहरीले आग्रह गरेको हो ।

अपरचित मानिसहरुको समुहमा होली नखेल्न आग्रह गर्दै बाँके प्रहरीले आत्मीयरुपमा नजिक भएका मानिसहरुसँग मात्र होली खेल्न सुचना जारी गरेको छ ।

अशक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई दुर्ब्यवहार हुने गरी कुनैपनि कार्य नगर्न नगराउन प्रहरीको अनुरोध छ ।

महँगा गरगहना लगाई होली खेल्ने ठाउँमा नजान आग्रह गर्दै बाँके प्रहरीले भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट तथा स्न्याचिङ जस्ता घटनाहरु बढी हुने हुँदा सावधान रहन विज्ञप्तिमार्फत सर्वसाधारणलाई सुचित गरेको छ ।

कुनैपनि अपराधिक गतिविधी हुन लागेको वा भएको थाहा भएमा नजिकैको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न प्रहरीको अनुरोध छ ।

कसैको इच्छाविपरीत रँग दलेमा, लोला प्रहार गरेमा वा होली पर्व मनाउने बहानामा कोही कसैमाथि दुर्व्वहार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बाँके प्रहरीले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया