नेपालगञ्ज : प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संसदीय टोलीले नेपालगञ्जस्थित भन्सार कार्यालय, नेपाल भारत नाका र आईसिपीको स्थलगत अनुगमन निरीक्षण गरेको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति प्रतिनिधि सभाका सदस्य अब्दुल खानको नेतृत्वमा रहेको सो संसदीय टोलीले मंगलबार नेपालगञ्ज भन्सार, नेपाल भारत नाका र आई सिपीको स्थलगत अनुगमन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिनुका साथै कर्मचारी र सुरक्षाकर्मीहरूसँग छलफल गरेको हो ।
सो संसदीय टोलीमा प्रतिनिधि सभाका सङ्घीय सांसदहरू अमृतादेवी अग्रहरी, कान्तिका सेजुवाल, रेखा यादव र शीतल मिजार लगायत सङ्घीय सचिवालयका कर्मचारीहरूको पनि सहभागिता रहेको छ ।
टोलीले नेपाल भारत नाका जमुनाहामा पुगेर त्यहाँ रहेको भन्सार कार्यालयको यात्रु शाखा र नेपाल भारत नाकाको निरीक्षण गर्नुका साथै नेपालगञ्ज आईसिपीमा पुगेर त्यहाँको पनि स्थलगत अनुगमन गरेको सङ्घीय सचिवालयका कर्मचारी सुरेन्द्र कुमार महतले बताए । उनले सो क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगायत नेपालगञ्ज भन्सार कार्यालयका कर्मचारीहरूले भन्सार, नाका र आई सिपीको बारेमा विस्तृत जानकारी गराएको बताए ।
सो टोलीले नेपालगञ्ज उद्योग वाणिज्य सङ्घसँग समन्वय गरेर जिल्लाका केही उद्योगहरूको पनि अनुगमन निरीक्षण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । उक्त टोलीसँगै भन्सार कार्यालय र नाकामा पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले नेपाल भारत नाका व्यवस्थित नहुँदा ठुलो परिमाणमा राजस्व चुहावट भइरहेको र नेपालगञ्जको व्यापार व्यवसाय समेत प्रभावित भइरहेको बारे टोलीलाई जानकारी गराइएको बताए ।
बाँके, बर्दिया र सुर्खेत जिल्लाको भ्रमणका लागि मंगलबार नेपालगञ्ज पुगेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संसदीय टोलीले बाँकेको भ्रमणपछि बर्दिया र सुर्खेतको पनि भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सो समितिले संसदीय निगरानीका लागि उद्योगहरूको स्थलगत अनुगमनका साथै चाडपर्व नजिकिएको हुँदा बजारमा खाद्यान्न लगायत उपभोग्य बस्तुको आपूर्तिको अवस्था, समस्याको पहिचान गर्नुका साथै मिसावट र मूल्यवृद्धिको बारेमा पनि अनुगमन गर्ने समितिले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार