Listen LIVE

बाँकेमा पनि धुमधामसँग मनाइयो इद उल फित्र

नेपालगञ्ज : बाँके जिल्लाका मुस्लिम समुदायले शनिबार इस्लाम धर्मको सबैभन्दा ठुलो पर्व इद–उल–फित्र धुमधामका साथ मनाएका छन् ।

शुक्रबार रातिदेखि परेको वर्षाका कारण टाढा–टाढाबाट आएका मानिसले इदगाहमा नमाज पढ्न नसके पनि इस्लाम धर्मावलम्बीले इदगाह र जिल्लाका अन्य मस्जिदहरूमा सामूहिक नमाज पढेका छन् । वरिष्ठ धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरीका अनुसार, सामूहिक नमाजमा उपस्थित धर्मगुरु, समुदायका अगुवा र सर्वसाधारणले देशको उन्नति र प्रगतिको कामना गर्दै प्रार्थना गरेका थिए ।

सो अवसरमा विभिन्न स्थानमा सम्बोधन गर्दै धार्मिक अगुवाहरूले देशमा शान्ति, समृद्धि र विकासको कामना गर्नुभयो। साथै, पूर्व सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई, नेपालगञ्जका मेयर प्रशान्त विष्ट, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, वरिष्ठ अडिटर तथा समाजसेवी जुबेर राई, करिम खान, समाजसेवी शकील अहमद जसगढ लगायतले शुभकामना सन्देश दिँदै देशमा शान्ति, भाइचारा, सद्भाव र एकताको पर्व मनाउन अनुरोध गरेका थिए ।

अन्य धर्म सम्प्रदायका स्थानीय राजनीतिक दलका अगुवा, प्रहरी प्रशासनका प्रमुख, व्यवसायी तथा उद्योगीहरूले समेत मुस्लिम समुदायलाई शुभकामना दिएका थिए ।

इदको सामूहिक नमाज सकिएलगत्तै नेपालगञ्जका विभिन्न स्थानमा इद मिलन कार्यक्रम आयोजना गरियो, जहाँ उपस्थितहरूले आपसी शुभकामना आदान–प्रदान गरेका थिए । तीन दिनसम्म चल्ने पर्वमा समुदायले सेवई, जर्दा, बिरयानी, कबाब लगायतका परिकार आफन्त र इष्टमित्रलाई खुवाउने परम्परा छ ।

मुस्लिम समुदायले यसअघि तीस दिनसम्म रमजानको रोजा बसेर धार्मिक क्रियाकलाप सम्पन्न गरेको थियो । सो क्रममा गरिब र विपन्नलाई दान वितरण गर्नुका साथै खाना खुवाउने काम गरिएको थियो । शुक्रबार साँझ इदको चन्द्रमा देखिएपछि फैजुन्नबी जामा मस्जिद र इदगाह सञ्चालक समितिले शनिबार इद मनाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया