दाङ : दाङमा सवारी दुर्घटना वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म भएका दुई सय ५७ सवारी दुर्घटनामा ६७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५१ जना पुरुष, ११ जना महिला र पाँच जना बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ प्रमुख एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०८०–०८१ को चैतसम्म जिल्लामा एक सय ५८ वटा सवारी दुर्घटनामा ७६ जनाको मृत्यु भएको थियो ।
उनका अनुसार गतबर्षको तुलनामा यो वर्षको चैतसम्म ९९ वटा सवारी दुर्घटनाका सङ्ख्या वृद्धि भएका छन् । कमजोर सडक, चालकको लापरवाहीसँगै दुर्घटना भएपछि प्रहरीलाई जानकारी गराउने क्रम बढ्दा जिल्लामा पछिल्लो समय सवारी दुर्घटनाको संख्यामा वृद्धि भएको प्रहरी निरीक्षक शाही बताउँछन् ।
विगतमा ठुला दुर्घटनाहरु भएमा मात्र प्रहरीलाई जानकारी गराउने अवस्था रहेको भन्दै प्रहरी निरीक्षक शाहीले भने, ‘अहिले दुर्घटना भएपछि तत्काल प्रहरीलाई सम्पर्क गर्ने क्रम बढेको छ, जसले गर्दा विगतका वर्षहरुको तुलनामा सवारी दुर्घटनाको संख्या बढेको देखिएको छ ।’ त्यससँगै निर्माणाधिन अवस्थामा रहेका कमजोर सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, तीब्र गतिमा कुदाउँदा पनि जिल्लामा सवारी दुर्घटना हुने गरेको बताए । उनले बढी दुर्घटना हुने क्षेत्रहरुमा टाइमकार्ड लागु भएसँगै केही घटेको समेत बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार