सुर्खेत : कर्णाली प्रदेश राजधानी सहरी सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । सडक निर्माण कार्य तोकिएको समयमा पूरा नहुने भएको हो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण काममा ढिलाइ भइरहेको छ ।
वीरेन्द्रनगरका १५ वटा सडकलाई प्याकेजमा स्तरोन्नतिको कार्य थालिएको थियो । तीन वर्षमा ३४ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयले प्रदेश राजधानी सहरी सडक निर्माणका लागि कान्छाराम कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो ।
२०७८ भदौ १७ गते विभिन्न १५ वटा सडकखण्डमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिएको हो । १२ करोड ९४ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले बताए । उनका अनुसार ठेक्का सम्झौता भएको तीन वर्षमा ३४ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको उनको भनाइ छ ।
निर्देशनालयले पहिलो पटक म्याद थप गरेको छ । सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन अनुसार उक्त निर्माण कम्पनीको म्याद थपिएको आचार्यले जानकारी दिनुभयो । निर्देशनालय र कन्स्ट्रक्सनबिच यी सबै सडक २०७९ फागुन २८ गतेसम्म निर्माण गरिसक्ने सम्झौता भएको थियो । तोकिएको मितिमा काम नभएपछि पहिलो पटक म्याद थप गरिएको जनाइएको छ । २०८० चैतमा पहिलो पटक म्याद थप भएको हो । २०८१ मङ्सिर २० गतेसम्मका लागि म्याद थप गरिएको निर्देशनालयले जनाएको छ ।
हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको छ भने ३० प्रतिशत वित्तीय प्रगति भएको छ । अझै ६६ प्रतिशत काम बाँकी नै छ । अहिलेसम्म ७९६ मिटर सडक कालोपत्रे भएको छ । चार सय मिटर सडक कालोपत्रेका लागि तयारी अवस्थामा रहेको जनाइएको छ । निर्माण कम्पनीले हालसम्म निर्देशनालयबाट तीन करोड रुपैयाँ लिएको छ । ५५ लाख बराबरको काम गरेको भुक्तानी निर्माण कम्पनीले पाएको छैन । नौ सय मिटर सडक कालोपत्रे गरेपछि मात्र भुक्तानी दिने निर्देशनालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार