नेपालगञ्ज : शिक्षा विकास तथा समन्वय इकाई, बाँकेले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८१ को परीक्षा केन्द्र निर्धारण सम्बन्धी विभिन्न भ्रामक सूचनाहरू सामाजिक संजालमा फैलिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा परीक्षा केन्द्र निर्धारण प्रक्रिया पूर्णरूपमा निर्देशिका अनुसार गरिएको स्पष्ट पारिएको छ । परीक्षा नियन्त्रक कार्यालय कक्षा १० सानोठिमी भक्तपुरको प.स. २०८१/०८२ च.न. २४५ मिति २०८१÷१०÷०२ गतेको पत्रमार्फत निर्देशन बमोजिम परीक्षा केन्द्र निर्धारण गरिएको जनाइएको छ ।
तर, हाल परीक्षा केन्द्र परिवर्तनसम्बन्धी आधारहीन प्रचार गरिएको, विद्यालयहरूको नाम तोकेर गलत सूचना प्रवाह भएको तथा कतिपय व्यक्तिहरूले परीक्षा केन्द्र निर्धारणका लागि सिफारिस गरेको जस्तो गरी भ्रम सिर्जना गर्ने काम भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा यस्ता भ्रामक प्रचारहरू गलत, अप्रमाणित र भ्रामक रहेको उल्लेख गर्दै सो सम्बन्धी जानकारी हटाउन अनुरोध गरिएको छ । साथै, यस्ता गतिविधि दोहोरिएमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बाँकेले परीक्षा केन्द्र निर्धारणका अन्तिम निर्णय माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन गर्ने निकायले गर्ने भएकाले झूटो प्रचारमा नफस्न अभिभावक, विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ ।
प्रेस विज्ञप्तिमा सामाजिक संजालमा फैलिएका गलत सूचना हटाउन सम्बन्धित पक्षलाई अनुरोध गर्दै परीक्षा केन्द्र निर्धारण प्रक्रिया विधिअनुसार नै सम्पन्न भएको पुनः स्पष्ट पारिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार