Listen LIVE

कोहलपुरमा मेलमिलापसम्बन्धि दुईदिने पुनर्ताजगी तालिम शुरु

कोहलपुर (बाँके) : उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश बासुदेव ज्ञवालीले अदालतको फैसलाले विवादको पूर्ण समाधान कहिल्यै पनि गर्न नसक्ने बताएका छन् । कोहलपुर नगरपालिका न्यायिक समितिद्वारा आजदेखि कोहलपुरमा मेलमिलाकर्ताहरुको लागि मेलमिलाप सम्वन्धि दुई दिने पुनर्ताजगी तालिमको उदघाटन गर्दै न्यायाधीशले मिसिलका आधारमा फैसला गर्ने भएकाले एक पक्ष सधैं असन्तुष्ट रहने बताए । ‘न्यायाधीशले लिखित मिसिलका आधारमा फैसला गर्ने हो,’ उनले भने–‘फैसला एउटाले जित्ने र अर्कोले हार्ने भएकाले विवादको अन्तिम समाधान हुन सक्दैन ।’

उनले मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा त्यो दीर्घकालीन हुने बताए । ‘स्थानीय तहलाई न्यायिक निरुपणको अधिकार संविधानले दिएको छ,’ उनले भने–‘मेलमिलापकर्ताहरुले स्थानीयस्तरमा निमिट्यान पारेका विवाद केवल दुई पक्षको समाधान मात्रै नभएर शान्ति स्थापनामा पनि टेवा पुर्याउँछ ।’ उनले समाजमा पूर्णरुपमा विवाद समाधान गर्ने मिलमिलाप सर्वोत्तम विकल्प भएको पनि उल्लेख गरे । मेलमिलापकर्ताहरुले इमान्दारिता र निष्पक्ष भएर विवाद समाधान गर्दै गए अधिकार समेत बढाउन सकिने आधार तय हुने उनको भनाई छ । वरिष्ठतम् न्यायाधीश ज्ञवालीले तीन वर्षअघि कोहलपुरका मेलमिलापकर्ताहरुलाई ४८ घण्टे तालिम दिएको स्मरण गर्दैै प्राप्त सीपलाई सही ढंगबाट उपयोग गर्न आग्रह पनि गरे ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका न्यायिक समितिका संयोजकसमेत रहेकी उपमेयर संगिता सुवेदीले न्याय निरुपणमा मेलमिलापकर्ताहरुले उत्कृष्ट कार्य गर्दै आएको बताइन् । कोहलपुर नगरपालिकाका १५ वटै वडामा एक–एक जना मेलमिलाप संयोजक र दुई–दुई जना मेलमिलापकर्ताहरु छन् । उपमेयर सुवेदीले ती मेलमिलाकर्ताहरुले वडा तहमा आएका विवादहरुलाई वडामै समाधान गर्दा न्यायिक समितिमा मुद्दाको चाप नभएको पनि बताइन् । उनले मेलमिलापका माध्यमबाट गरिने विवाद समाधान दीर्घकालीन देखिएको आफूले महसुस गरेको बताइन् ।

सुवेदीकै अध्यक्षतामा भएको तालिमको उदघाटन समारोहको स्वागत मन्तव्य न्यायिक समितिकी सदस्य सविता चौधरीले व्यक्त गरेकी थिइन् । न्यायिक समितिका सदस्य सचिव आशिष वर्माले सञ्चालन गरेको उक्त तालिमको पहिलो दिन वरिष्ठतम् न्यायधीश ज्ञवाली, कोहलपुर नगरपालिकाका कानूनी सल्लाहकार कर्ण केसी, मेलमिलाप प्रशिक्षक सीता अधिकारीले प्रशिक्षण दिएका छन् ।

प्रतिक्रिया