नेपालगञ्ज : उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालगञ्जमा नवनिर्मित सिटी हलको उदघाटन गरेका छन् । उपप्रधानमन्त्री सिंहले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ भवानियापुरस्थित नगरकै अहिलेसम्मकै ठूलो क्षमताको सुविधा सम्पन्न सिटी हलको आज एक समारोहका बीच उदघाटन गरेका हुन् ।
सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजनाले सिटी हल निर्माण गरेको हो । ठेकेदार कम्पनी लामा कन्स्ट्रक्शनले २८ करोड बढी लागतमा निर्माण सम्पन्न गरेको सिटी हलमा ७९५ सिट क्षमताको सुविधा सम्पन्न हल छ । त्यस बाहेक अन्य साना तीन वटा बहुउद्देश्यीय हल पनि छन् । २०७५ देखि निर्माण सुरु भएको सिटी हल २०८१ साउन २० गते सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजना नेपालगञ्जका कार्यालय प्रमुख रामकृष्ण आचार्यले बताए । सिटी हल उदघाटन पश्चात् उपप्रधानमन्त्री सिंहले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गरेका थिए ।
सिटी हल उदघाटन गर्दै उपप्रधानमन्त्री सिंहले सिटी हलको सही सदुपयोग गर्नुपर्ने बताए । उनले सिटी हलले नेपालगञ्ज क्षेत्रको आर्थिक क्रियाकलाप प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टले सिटी हल छिट्टै सञ्चालनमा ल्याइने बताए । विष्टले सिटी हलको संरक्षण र सम्बद्र्धनमा लागिपर्ने बताए ।
कार्यक्रममा संघीय सांसदहरु किशोर सिंह राठौर, दीपा शर्मा, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्ट लगायतले बोलेका थिए । सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको अध्यक्षतामा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार