Listen LIVE

नेपालगञ्जस्थित डिपोमा १९ हजार क्विन्टल चामल स्टक

नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयमा विभिन्न प्रकारका १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान स्टक रहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामसरण लामिछानेले खाद्य व्यवस्था कम्पनीको गोदाममा हाल जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरेर १९ हजार क्विन्टल चामल स्टकमा रहेको बताए । 

उनले यसैवर्ष खरिद गरिएको र कुटाउन बाँकी रहेको १० हजार क्विन्टल धान पनि स्टकमा रहेको जानकारी दिए ।

प्रमुख लामिछानेका अनुसार खाद्यको गोदाममा हाल जिरा मसिनो चामल पाँच हजार क्विन्टल, अरुवा मसिनो चामल पाँच हजार क्विन्टल र अरुवा मोटो चामल नौ हजार क्विन्टल स्टक रहेको छ ।

गोदाममा रहेको चामलको खुद्रा तथा थोक बिक्री गर्ने कार्यपनि चलिरहेको र पश्चिम नेपालको कर्णाली प्रदेशका जिल्लाहरुबाट माग भइ आएमा पठाउने कार्य समेत गरिरहेको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । 

यसपटक चामलको मूल्य समायोजन भएर आउँदा प्रति क्विन्टल पाँच सय देखि छ सय रुपैयाँसम्म मूल्य घटेर आएकोले पनि बजारमा खाद्यको चामलको माग बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख लामिछानेले बताए ।

उनले खाद्य व्यवस्था कम्पनीको चामल गुणस्तरीय हुने र उपभोक्ताले विश्वास गर्ने गरिएकोले स्थानीय बजारसँग प्रतिष्पर्धा गर्न मूल्य समायोजन गरिएको बताए ।

पश्चिम नेपालको कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, र जाजरकोटमा रहेका खाद्यका डिपोहरूमा अहिले पर्याप्त चामल रहेकोले कुनै समस्या नरहेको जनाउँदै प्रमुख लामिछानेले आवश्यक परेमा तत्काल पठाउने गरी स्टक राखिएको बताए ।

बाँकेमा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो । जिल्लाका धेरै किसानले कम्पनीमा बिक्रीका लागि धान लिएर आएपनि कोटा कम भएको जनाउँदै सबै धान खरिद नगरेपछि फिर्ता जानुपरेको थियो ।

यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसामा खरिद गर्ने गरि मूल्य तोकेको थियो ।

प्रतिक्रिया