नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले कला, साहित्य र संस्कृतिसँग नजिक भए मात्र मानिसको जीवन पूर्ण हुने बताएका छन् ।
बिहीबारदेखि नेपालगञ्जमा सुरु भएको वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको ‘श्यामानन्द वृहत् एकल कला प्रदर्शनी’को शुक्रबार उदघाटन गर्दै मेयर विष्टले भने, “कला, साहित्य र संस्कृतिसँग नजिक भएर माया गरे मात्र मानिसको जीवन पूर्ण हुन्छ ।” उनले भने, “कुनै न कुनै प्रकारबाट मानिस कला, साहित्य र संस्कृतिसँग जोडिएको हुन्छ, यसले मानिसको जीवन जिउनका लागि मद्दत गरिरहेको हुन्छ ।”
मेयर विष्टले फालिएका विभिन्न बस्तुबाट पनि वरिष्ठ कलाकार सिंहले मानिसको जीवनसँग प्रत्यक्ष जोडिएका हजारौँ सामग्रीहरु बनाएको भन्दै उनको प्रशंसा गरे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आफू पनि चित्रकलामा रुचि राख्ने व्यक्ति भएको भन्दै एक्लो व्यक्तिले जीवनभर बनाएका हजारौँ कलाकृतिहरु एकै ठाउँमा निःशुल्क रुपमा अवलोकन गरेर धेरै ज्ञान बटुल्न सकिने बताए । उनले कलाकार सिंह नेपालगञ्जको मात्र नभएर सिङ्गो बाँकेवासीको गौरव भएको बताए ।
बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङले यस क्षेत्रमा चासो राख्ने हरेक व्यक्ति मात्र नभएर विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई समेत कला प्रदर्शनीले फाइदा लिन सक्ने बताए । “बनाएका चित्र र हस्तकलाका सामग्रीहरु विशेष गरेर विद्यालयको पाठ्यक्रममा आधारित छन्, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागि यो प्रदर्शनी अति नै उपयोगी हुन सक्छ ।” अध्यक्ष गुरुङले भने, “खुला रुपमा प्रदर्शनीमा राखिएका उहाँका कलाकृतिबाट शिक्षक तथा विद्यार्थीले थप लाभ लिन सक्नेछन् ।”
सरस्वती सङ्गीतालयका अध्यक्षसमेत रहेका कलाकार तथा शिक्षक वीेरेन्द्र यादवले कलाकार सिंहले एक्लै पाँच हजारभन्दा बढी विभिन्न चित्र, मूर्ति तथा कलाकृतिहरु बनाउनुभएको भन्दै सङ्गीतालय मै संग्रहालय बनाएर कलाकृतिहरु राख्न पाए उनको कला अझै जीवन्त हुने बताए ।
कला प्रदर्शनी अवलोकन गर्नका लागि निःशुल्क व्यवस्था गरिएको छ । “जो सुकै कलाप्रेमी यहाँ आएर निःशुल्क रुपमा प्रदर्शनी अवलोकन गर्न सक्नुहुन्छ ।” कलाकार सिंहले भने, “पछिल्लो नयाँ पुस्तालाई हस्तकला, चित्रकला तथा मूर्तिकलाका बारेमा सिकाइ होस् भनेर पनि यो प्रदर्शनी राखिएको हो, यहाँ आएर अवलोकन गरेर आफूलाई मन परेको वस्तु खरिद समेत गर्न सकिन्छ ।”
संस्कृति मन्त्रालयबाट चित्रकलामा क्षेत्रीय पुरस्कार, ललितकला प्रज्ञा प्रतिष्ठानबाट विशेष पुरस्कार लुम्बिनी प्रदेश सरकारबाट सम्मानित समेत हुनुभएका कलाकार सिंहको यो चौथो प्रदर्शनी हो । उनले यसअघि नेपालगञ्जका विभिन्न स्थानमा तीन पटकसम्म यस्तो प्रदर्शनी गरिसकेका छन् ।
“मैले घरमा पनि संग्रहालय बनाएको छु, मेरो घरमा पनि विभिन्न सामग्रीहरु निःशुल्क अवलोकन गर्नका लागि आउन सक्नुहुन्छ ।” कलाकार सिंहले भने, “मैले सबै फालिएका (वेस्टेज) सामानहरुको प्रयोग गरेर विभिन्न वस्तुहरु बनाउँदछु, मेरो कच्चा पदार्थ भनेकै काम नलाग्ने कागज, प्लाष्टिक, दप्ती, कपडा, काठलगायत हुन, माटो र सिमेन्ट पनि प्रयोग गर्छु ।”
“प्रदर्शनीमा विद्यालयका शिक्षक, विद्यार्थी, कलाकार, कलाप्रेमी तथा कलापारखी लगायत सम्पूर्ण सर्वसाधारण नागरिकहरु आएर निःशुल्क अवलोकन गर्न सक्नुहुन्छ, यसका बारेमा जानकारी लिन सक्नुहुन्छ ।” सिंहले भने ।
आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने एकल कला प्रदर्शनी बिहीबारबाट नेपालगञ्ज १३ रामलीला मैदानस्थित सरस्वती मन्दिर परिसरमा सुरु भएको हो बिहीबारदेखि सुरु भए पनि शुक्रबार मात्र प्रदर्शनीको औपचारिकरुपमा उदघाटन गरिएको हो ।
श्यामानन्द कला तथा संस्कृति प्रतिष्ठानले आयोजना गरेको एकल कला प्रदर्शनीमा वरिष्ठ कलाकार सिंहले हालसम्म बनाएका हजारौँ विभिन्न हस्तकला, चित्रकला तथा मूर्तिकलाका सामग्रीहरु राखिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार