Listen LIVE

कोहलपुर प्रशासन कार्यालय तोडफोडपछि सेवा प्रभावित

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकास्थित इलाका प्रशासन कार्यालय कोहलपुरमा सामान्य प्रशासनिक काम–कारबाही प्रभावित भएको छ ।

भदौं २३ र २४ गते जेनजी समूहको आन्दोलनका क्रममा कार्यालयमा तोडफोड र आगजनी हुँदा भवनसहित फर्निचर, कम्प्युटर, ल्यापटप, पासपोर्ट र अन्य कागजात नष्ट भएका छन् । कार्यालय प्रमुख अन्तिम सिजालीका अनुसार हाल कार्यालय सञ्चालनमै कठिनाइ भएको छ र तत्काल फर्निचर तथा कम्प्युटर आवश्यक रहेको छ ।

कार्यालयले आन्दोलनको क्रममा लगिएका सामग्री र कागजात सात दिनभित्र बुझाउन सूचना प्रकाशित गरेको छ । प्रमुख सिजालीले तोकिएको समयभित्र बुझाइएन भने खोजी कार्य तीव्र पारिने र भेटिएपछि कानूनी कारबाही हुने चेतावनी दिए ।

उपकरण अभावका कारण सेवाग्राही र कर्मचारी दुबै समस्यामा परेको कार्यालयले जनाएको छ । प्रमुख सिजालीले यस कठिन अवस्थामा सरकारी निकाय, स्थानीय तह र सरोकारवालाको सहयोग अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया