नेपालगञ्ज : बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिकामा रहेको एक सरकारी विद्यालयमा तीन जना शिक्षकले आफूलाई प्रधानाध्यापक भएको दाबी गरेपछि विवाद बढ्दै गएको छ । तीन जनाले आफूलाई प्रधानाध्यापक भएको दाबी गरेपछि पठनपाठन अवरुद्धसमेत हुन थालेको छ । यस्तो खालका समस्या आएपछि गाउँपालिकाले चासो दिएको छ ।
पालिकाका अनुसार नरैनापुर–६ को जमुनी माध्यमिक विद्यालयमा विगत केही महिनादेखि सो विद्यालयका तीन शिक्षक अम्बरलाल यादव, अफसर अली मुकेरी र सन्देश शर्माले आफूलाई प्रधानाध्यापक घोषित गरी काम गर्न खोजेपछि विद्यालयको पठनपाठन अवरुद्ध भई दैनिक जसो विवाद हुने गरेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले तिनै जनाले आफूलाई वैधानिक प्रधानाध्यापक बताउँदै विद्यालयको कागजपत्र कब्जा गर्ने प्रयास गर्दा सो विद्यालयको पठनपाठन अवरुद्ध भएको बताए । विद्यालयको विवाद गाउँपालिकामा पुगेपछि पालिकाले सोबारेमा अध्ययन अनुसन्धान गरेर तत्काल लागु हुने गरी अम्बरलाल यादवलाई जमुनी माध्यमिक विद्यालयको प्रधानाध्यापकमा नियुक्त गरेको छ । यादवको प्रधानाध्यापकमा नियुक्तिसंँगै अफसर अली मुकेरीको काज फिर्ता गरिएको र सन्देश शर्मालाई सोही विद्यालयमै रहेर शिक्षण गर्न निर्देशन दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओलीले बताए ।
स्थानीय अभिभावक हरिहर यादवले तीन जनाले प्रधानाध्यापक दाबी गर्दा विद्यालयमा पढाइ रोकिएको र कुर्सी तथा रजिस्टर तानातान हुँदै आएको जनाउँदै बालबालिका विद्यालय जानै छाडेकोे सुनाए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्थानीय सरकार गठन हुनुभन्दाअघि पालिकामा रहेका अधिकांश विद्यालयको अवस्था निकै चिन्ताजनक रहेको बताउँदै गत आठ वर्षको अवधिमा सुधारका प्रयास भएका दाबी गरे । उनले अझै पनि जमुनी माविमा प्रधानाध्यापकका लागि वादविवाद भइरहेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार