Listen LIVE

कात्तिकमै हुस्सु लागेपछि बाँकेमा चिसो बढ्यो

नेपालगञ्ज : पुस र माघ महिनामा लाग्ने हुस्सु र कुहिरो यसपटक कात्तिकमै लागेसँगै बाँकेमा चिसो बढेको छ । गर्मी भइरहेकै बेला मोन्था आँधीको असरले केही दिन मौसममा बदली भएर हल्का वर्षा भएपछि नेपालगन्जको मौसममा परिवर्तन सुरु भएको हो ।

तर मौसम परिवर्तनको सुरुमै आइतबार बिहानबाटै लागेको हुस्सु र कुहिरोले गर्दा स्थानीयले आश्चर्य प्रकट गरेका छन् । नेपालगञ्ज ११ का स्थानीय फिरोज सिद्दिकीले यसअघि यति छिटो यसरी हुस्सु लागेको आफूले थाहा नपाएको बताए । उनले यस्तो हुस्सु त पुस माघमा लाग्ने गरेको बताए ।

हुस्सुका कारण नेपालगञ्ज विमानस्थल बिहान नौ बजेसम्म खुलेको छैन भने अन्य सवारी साधन दुर्घटनाकोे जोखिम पनि बढेको छ । हुस्सुकै कारण बिहानका कामहरु प्रभावित भएको स्थानीयले जनाएका छन् । आइतबार बिहानबाटै सामाजिक सञ्जालदेखि लिएर भेटघाटमा समेत यो एक्कासी लागेको हुस्सु र कुहिरोले व्यापक चर्चा पाएको छ ।

प्रतिक्रिया