Listen LIVE

भत्ताभन्दा राउटेलाई पोसिलो खानेकुरा दिन सुझाव

सुर्खेत : जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई भत्ताभन्दा पोसिलो खानेकुरा दिनुपर्ने आवाज उठेको छ । भत्ताको रकमले उनीहरूले मदिरा तथा अन्य फजुल खर्च गर्ने र स्वास्थ्यमा समस्या आउन थालेपछि उनीहरूलाई भत्ताको सट्टा पोसिलो खानेकुरा दिनुपर्ने जनाइएको छ । 

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको एक कार्यक्रममा राउटे समुदायलाई दिइने भत्तालाई व्यवस्थित गर्नुपर्ने सुझाव पनि दिइएको छ । राउटेलाई सामाजिक सुरक्षा भत्ताबापत दिइने रकम राउटे समुदायले मदिरा सेवनमा खर्च गर्ने गरेको भन्दै राउटेको स्वास्थ्यमा गम्भीर असर परेको छ । 

कर्णाली युवा परिषद्का कार्यकारी उपाध्यक्ष राजेन्द्र अधिकारीले राउटेलाई दिइने सामाजिक सुरक्षा भत्ता रकमको सट्टा पोसिलो खानेकुरा वितरण गर्नुपर्ने सुझाव दिए । उक्त रकम बराबरको पोसिलो खानेकुरा र लत्ताकपडा दिइनुपर्ने उनले औंल्याए । उनका अनुसार मदिराका कारण राउटेको स्वास्थ्य जोखिममा परेको छ । 

गैरसरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष प्रकाश सारूले राउटेलाई देखाएर धेरैले आफ्नो दुनो सोझ्याएको आरोप लगाए । उनले पनि राउटेलाई दिइएको भत्ताले उनीहरूको जीवनशैली बिग्रेको भन्दै अब त्यसको साटो खाद्यान्न, लत्ताकपडा दिइनुपर्ने बताए । राउटे समुदायलाई सहयोगका नाममा सङ्घ संस्थाले परनिर्भर बनाई अस्तित्व सङ्कटमा पार्ने काम गरेकोमा भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । राउटे समुदायलाई दिइने सहयोग आफूखुसी नभई एकद्वार प्रणालीमा लैजानुपर्ने सुझाव पनि उनले दिए । मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले राउटेको मानव अधिकारको रक्षा गर्नुपर्ने बताए । विगतको भन्दा राउटेको अवस्थामा केही परिवर्तन भए पनि गाँस, बास र कपास; शिक्षा स्वास्थ्य र रोजगारीको अवस्थामा पनि ध्यान दिन जरुरी रहेको उनको सुझाव छ । मानव अधिकार रक्षक सञ्जालका संयोजक शर्मिला बिसीले राउटेले चाहेकोभन्दा आफ्नो फाइदाका लागि मात्रै सहयोग गर्ने गरिएको भन्दै अब उनीहरूको आवश्यकता अनुसार काम गर्न सङ्घ संस्थालाई आग्रह गरिन् । 

राउटे समुदायमा काम गर्दै आएको संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हिरासिंह थापाले राउटे समुदाय घट्दै गएकामा चिन्ता व्यक्त गरे । उनले कल्याल, रास्कोटी र सोवंशी गरी तीन वटा समुदाय रहेको भन्दै एउटै समुदायका केटा र केटीको विवाह नहुने सामाजिक परम्परा भएका कारण धेरै युवा विवाह नगरेर बसेको उल्लेख गरे । अहिले एकल महिला २३ जना रहेको भन्दै उनले राउटे समुदयमा एकल महिलाले दोस्रो विवाह गर्न नपाउने प्रचलनका कारण पनि जनसङ्ख्या घटेको बताए । अहिले राउटेको सङ्ख्या १३८ रहेको छ । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले राउटे ठाउँ ठाउँमा बसाइँसराइ गरे पनि उनीहरूको सुरक्षालाई ध्यान दिइएको बताए । राष्ट्रिय मानव अधिकार आयोगका मुरारी खरेलले राउटेको पनि मानव अधिकार प्रत्याभूति गराउन जरुरी रहेको उल्लेख गरे । 

मानव अधिकार आयोगले राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु–नराख्नु, प्रजनन स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसम अनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभाव जस्ता कारणले राउटेको जनसङ्ख्या ऋणात्मक बन्दै जान थालेको भन्दै सरकारलाई विभिन्न सुझाव दिएको छ ।

प्रतिक्रिया