Listen LIVE

तीस जना किशोरीलाई ‘साथी सहजकर्ता’ बनाईंदै

नेपालगञ्ज : सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष (साथी सहजकर्ता) बनाउन थालिएको छ । समुदायस्तरमा किशोर किशोरीहरुको समुहलाई सचेतना अभिबृद्धिका लागि किशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिममार्फत दक्ष बनाउन लागिएको हो । 

किशोरीहरुलाई दक्ष बनाउन १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम नेपालगञ्जमा सञ्चालन गरिएको छ । तालिममा रुपान्तरणका १५ विषयबस्तुहरु मेरो सेरोफेरो, आत्म जागरण, अधिकार र कर्तव्य, लिङ्ग–लैङ्गिकता, किशोरावस्था, राम्रो बानी, पोषण, नागरिक सहभागिता, प्राथमिक उपचार, खर्च वचत, यौन तथा प्रजनन अधिकार लगायतमा आधारित ज्ञान सिप प्रदान गरिने युनिसेफ फिल्ड कार्यालय धनगढीका बालसंरक्षण अधिकृत प्रकाश कैनीले बताए । 

इयु शसक्त महिला समृद्ध नेपाल परियोजनाअन्तर्गत सामुदायिक विकास केन्द्र डोटी र आवाज सुर्खेतद्वारा आयोजित तालिममा कालीकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत बाजुरा, डोटी र कञ्चनपुर जिल्लाका ३० जना किशोरीहरुको सहभागिता रहेको छ । 

तालिम पश्चात् सहभागीहरुले समुदायस्तरमा छुट्टाछुट्टै ४२ वटा सत्र सञ्चालन गर्ने परियोजना कार्यक्रम संयोजक शर्मिला पौडेलले बताइन् । उनका अनुसार दुर्गम ग्रामिण क्षेत्रका किशोर किशोरीहरुको जिवनशैली परिवर्तन गर्न यो कार्यक्रम सञ्चालन गरिनेछ । 

तालिममा मन्दिप सुरी र सरु शिल्पकारले प्रशिक्षण दिइरहेका छन् । तालिमको उदघाटन कार्यक्रममा युनिसेफ धनगढी फिल्ड कार्यालय प्रमुख इन्द्रराज पन्त, बालसंरक्षण अधिकृत प्रकाश कैनी, श्रृजना नेपाल, कर्णाली फिल्ड कार्यालयका बालसंरक्षण अधिकृत कुन्ङ्ग सान्डुप लामा, सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक हेमरज जोशी, कार्यसमिति सदस्य मनु जोशीलगायतले किशोरीको विकासका लागि आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया