नेपालगञ्ज : नेपालगञ्जबाट ठूलो परिमाणमा खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको वडा नम्बर ८ का २५ वर्षीय सरीफ कवाडियालाई २७ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।
खैरो हेरोइनको कारोबार भइरहेको विशेष सूचना पाएर मंगलबार साँझ गएको नेपालगञ्ज लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र सुर्खेत लागुऔषधको टोलीले कवाडियाको घर खानतलासी गर्ने क्रममा उक्त २७ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।उनको साथबाट डिजिटल तराजु समेत बरामद गरिएको हो ।
त्यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको टोलीले नेपालगञ्ज–२१ का २० वर्षीय समीर खान र सोही स्थानका २१ वर्षीय कस्मिन सिंह ठकुरीलाई ९ ग्राम १९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
मंगलबार दिउँसो भारतको रुपईडहाबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा नेपालगन्ज–१५ जमुनाहा नाकाबाट उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
लागुऔषध नियन्त्रण ब्यूरोले उनीहरु सवार भे १० प ४९३६ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएर बरामद गरिएको खैरो हेरोइन र पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी बाँकेको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
खैरो हेरोइनसहित पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान सुरु गरिएको बताइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार