Listen LIVE

बाँकेमा भाइरल फ्लुका विरामी बढे

नेपालगञ्ज : गर्मीसँगै बिचबिचमा हुने वर्षाले गर्दा हाल आएर मौसमको चपेटामा परी बाँके जिल्लामा फेरी भाइरल ज्वरोका बिरामीहरु बढेका छन् । सो भाइरलबाट बालबालिका सबैभन्दा बढी पीडित भएको पाइएको छ ।

केही दिनयता समय समयमा भइरहेको वर्षा र उम्सो गर्मीका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीहरुको सङ्ख्या बढेको विभिन्न अस्पतालले जनाएका छन् ।

कुनै बेला अत्यधिक गर्मी हुने र कुनै बेला वर्षा भएर मौसम अलि शीतल हुने गरेका कारण यस्ता बिरामीहरूको सङ्ख्या बढेको चिकित्सकहरूको भनाइ छ ।

भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा. संकेतकुमार रिसालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिंगान निस्कने लक्षण देखिने बिरामीहरु अहिले अस्पतालमा सबैभन्दा बढी आउने गरेका छन् । तीमध्ये बालबालिकाको सङ्ख्या धेरै हुने गरेको उनले बताए ।

भेरी अस्पतालमा मात्र दैनिक दुईदेखि तीन सयसम्म भाइरल फ्लुका बिरामी उपचारका लागि पुग्ने गरेको डा. रिसालले बताए ।

नेपालगञ्जस्थित सन्जीवनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले शिक्षण अस्पतालमा पनि भाइरल फ्लुका बिरामीहरु आउने क्रम अहिले धेरै बढेको बताए ।

उनले त्यस्ता बिरामीमा बालबालिका र वृद्धवृद्धाको सङ्ख्या धेरै हुने गरेको बताए ।

सोही प्रकारले नेपालगञ्जका वरिष्ठ फिजिसियन प्रकाश नागले पनि मौसमका कारण भाइरलको सङ्क्रमण बढेको जनाउँदै उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम नहुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता समस्या देखापरिरहेको बताए ।  

यसैगरी, नेपालगञ्ज र कोहलपुरका निजी क्लिनिकहरुमा पनि केही दिनयता भाइरल ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामीहरु आउने क्रम बढेको चिकित्सकहरुले जनाएका छन् । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा उचित ध्यान नपुर्याउँदा भाइरल फ्लुका बिरामी बढेको चिकित्सकहरुको भनाइ छ ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. शकिल अहमदले मौसमको सबैभन्दा बढी प्रभाव बालबालिकामा पर्ने हुँदा अहिले बालबालिका धेरै भारइल फ्लुबाट पीडित रहेको बताए ।

उनले अहिले आफ्ना क्लिनिकमा सबै बालबालिका भाइरल ज्वरो र रुघाखोकीबाट पीडित भएर आउनेहरु रहेको जनाउँदै सचेत रहन अभिभावकसँग अपिल गर्नुभएको छ ।

नेपालगञ्जका केही विद्यालयहरुले भाइरल फ्लुका कारण बालबालिका बिरामी परेपछि विद्यालय आउने बालबालिकाको सङ्ख्या पनि घटेको जनाएका छन् ।

प्रतिक्रिया