Listen LIVE

महिला सशक्तीकरण प्राथमिकतामा

सुर्खेत : कर्णाली प्रदेश सरकारले महिला सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । उद्यमी महिलाहरूलाई प्रोत्साहन गर्नका लागि नयाँ कार्यक्रम ल्याएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सरकारले नयाँ कार्यक्रम ल्याएको हो ।

महिलालाई आर्थिक उपार्जनमा जोड्नका लागि ‘एक जिल्ला, एक उद्यमी महिला प्रोत्साहन कार्यक्रम’ कार्यान्वयन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । नयाँ कार्यविधि निर्माण गरेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । कार्यक्रम कार्यान्वयन गर्नका लागि महिला उद्यमी पुरस्कार वितरण कार्यविधि २०८१, निर्माणसमेत गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट कार्यविधि स्वीकृत भएसँगै कार्यक्रम कार्यान्वयनका चरणमा अघि बढेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो कार्यक्रम कार्यान्वयनका लागि ११ लाख बजेट विनियोजन गरिएको मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीले जानकारी दिइन् । उनका अनुसार कर्णालीका १० वटै जिल्लामा कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । उद्यमी महिलालाई प्रोत्साहन गर्नका लागि नयाँ कार्यक्रम कार्यान्वयन गर्न लागिएको उहाँको भनाइ छ । 

पछिल्लो समय साना तथा मझौला उद्योगमा महिलाको सहभागितामा वृद्धि भइरहेको छ । उनीहरूको क्षमता विकास र काममा प्रोत्साहन गर्नका लागि पाइलट प्रोजेक्टका रूपमा कार्यक्रम ल्याइएको हो । महिला उद्यमशीलताको क्षेत्रमा योगदान पु¥याउने महिला उद्यमीलाई पुरस्कृत गर्ने, उद्यम कार्यलाई सहज, सरल र व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको छ । यो वर्ष सरकारले महिला सशक्तीकरणका कार्यक्रममा जोड दिएको हो ।

प्रदेश सरकारले महिला तथा बालबालिकाका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ । सीमान्तकृत समुदाय एवं जोखिममा रहेका महिला तथा बालबालिकाको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको प्रदेश सरकारले जनाएको छ । बालमैत्री छाउपडीमुक्त, छुवाछुतमुक्त, बालविवाहमुक्त बनाउने अभियानका कार्यक्रमसमेत राखिएको हो ।

प्रतिक्रिया