नेपालगञ्ज : डुडुवा खोलामा पौडी खेल्नेक्रममा शनिबार डुबेर बेपत्ता भएका एक बालकको शव आइतबार प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार शनिबार दिउँसो करिब ३ बजेको समयमा सात जना बालक नेपालगन्ज २० राँझास्थित डुडुवा खोलामा पौडी खेल्न गएका थिए । हुम्ला सिमिकोट–७ घर भई हाल नेपालगञ्ज २० राँझामा डेरा गरी बस्ने वर्ष १६ का उपेश शाही डुबेर बेपत्ता भएका थिए ।
प्रहरीका अनुसार शाही डुबेको स्थान वरिपरि शनिबार नै सशस्त्र प्रहरी, राँझा प्रहरी बिट र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले बेलुकासम्म खोजतलास गर्दा बालकको कुनै पत्ता लागेको थिएन ।
तर, आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटर शमशेरगन्ज बाँकेबाट सशस्त्र प्रहरी निरीक्षक केशव बुढाको कमाण्डमा ७ जनाको लाइफबोट समेतको गोताखोर टोलीले डुबेकै स्थानबाट बालक शाहीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटनास्थलको प्रारम्भिक काम पश्चात् शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएकोमा दिउँसो पोस्टमार्टम गरेर शवलाई मृतकका ठुलो बुवा प्रेमबहादुर शाहीलाई बुझाएको प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार