Listen LIVE

सौहार्दपूर्ण रुपमा बाँकेमा होली सम्पन्न

यदुराज मिश्र/नेपालगञ्ज : बाँकेमा होली पर्व सौहार्द वातावरणमा सम्पन्न भएको छ । रँगको पर्व होली सभ्य र मर्यादितरुपमा सम्पन्न भएको हो ।

असत्यमाथि सत्यको विजयको रुपमा समेत मनाइने होली पर्व गत वर्षको तुलनामा यस वर्ष सभ्यताका साथ मनाइएको छ ।

होली पर्वको मौलिकता र परम्परा गीत हराएको समाचार रेडियो बागेश्वरी डटकमले प्रकाशित गरेपछि त्यसको असर बाँकेमा देखिएको छ । होलीका अवसरमा बाँकेका विभिन्न स्थानमा सभ्य, मर्यादित मनाउनुका साथै पारम्परिक गीतसमेत गाउने देखिएको छ ।

दिउँसभरी होलीको रँग खेलेपछि अपरान्ह नुहाइ धुवाई गरेर घरघरमा गएर होली मिलन गरिएको छ । बाँकेको वडा नं. ६ हिरमिनियामा वडाध्यक्ष मोहनराम मिश्रको घरबाट बेलुका शुरु गरिएको होली मिलन कार्यक्रम गाउँका विभिन्न व्यक्तिहरुको घरमा गएर पारम्परिक गीतका साथै समापन गरिएको छ ।

दिनभरी होली खेलेपछि नुहाई धुवाई गरेर बेलुकादेखि राती १० बजेसम्म घरघरमा पुगेर होली मिलन कार्यक्रम गरिएको डुडुवा गाउँपालिका वडा न. ६ का अध्यक्ष मोहनराम मिश्रले बताए । होलीको पारम्परिक गीतका साथै घर मिलन कार्र्यक्रम सम्भवतः डुडुवा ६ हिरमिनियामा मात्रै हुँदै आएको उनले जिकिर गरे ।

मापसे र लपसे गरेका बीस जना नियन्त्रणमा

होलीमा उछृँखल गतिविधी गर्ने २० जना बाँके प्रहरीको नियन्त्रणमा परेका छन् । मादक पदार्थ र लागुऔषध सेवन गरेर हो हल्ला र उछृँखल गतिविधी गर्ने २० जना बाँके प्रहरीको नियन्त्रणमा परेका हुन् । नियन्त्रणमा लिइएका सबै जनालाई मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) जाँच गराएर कारवाही प्रक्रिया शुरु गरिने बाँके प्रहरीका प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

यसैगरी होली खेल्ने बहानामा कानुनको उल्लघंन गर्ने दर्जर्नौ बढी सवारी साधनलाई नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ । होलीका दिन बिना हेल्मेट, तीन जना बसेका मोटरसाइकललाई होल्ड अर्थात् नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कानुन उल्लंघन गर्ने १ सय ३७ मोटरसाइकललाई दिनभरी होल्ड गरी सम्झाई बुझाइ गरेर बेलुका तिर छाडिएको एसपी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया