Listen LIVE

नेपालगञ्ज वाटरपार्कमा सय किलो फोहोर सङ्कलन

नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित चर्चित पर्यटकीयस्थल वाटरपार्कमा १०० किलोभन्दा बढी प्लास्टिकजन्य फोहोर भेटिएको छ। बास नेपालले आयोजना गरेको सरसफाई कार्यक्रम अन्तर्गत त्यहाँबाट उक्त फोहोर सङ्कलन गरिएको हो।

हरित नेपालगञ्ज कार्यक्रमअन्तर्गत वाटरपार्कमा गरिएको सरसफाइ कार्यक्रममा धम्बोझी माध्यमिक विद्यालय र देउतादिन माध्यमिक विद्यालयका विद्यार्थी, बास नेपालका स्वयंसेवक र कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए। बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीका अनुसार कार्यक्रमको उद्देश्य सरसफाइ गर्नुका साथै घुम्न आउने स्वदेशी तथा भारतीय पर्यटकलाई सरसफाइप्रति सचेत गराउनु रहेको थियो।

सरसफाइ अभियान मार्फत ८.६ केजी मोटो प्लास्टिक र बोतलहरू, २५.३ केजी प्लास्टिक थैली, १७.६ केजी काँचका बोतल र ५५.९५ केजी विविध फोहोर सङ्कलन गरी कुल १०६.८५ केजी फोहोर सङ्कलन भएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए।

उनले वाटरपार्क जस्तो प्रसिद्ध पर्यटकस्थलमा वस्तुबिनको उचित व्यवस्थापन नभएको दुःखद भएको भन्दै सम्बन्धित वडा र नेपालगन्ज उपमहानगरपालिकाले तत्काल व्यवस्थापन पहल गर्नुपर्ने बताए।

कार्यक्रम प्रबन्धक भण्डारीले सरसफाइ गर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्डको जानकारी सहभागीहरू र वाटरपार्कका कर्मचारीलाई गराइएको थियो। यस कार्यक्रममा विद्यालयका विद्यार्थी, स्थानीयवासी र बासका स्वयंसेवक गरी करिब ५० जनाको सहभागिता रहेको थियो।

बासका कार्यकारी निर्देशक शाहका अनुसार केही दिनअघि पनि सोही स्थानमा सरसफाइ गर्दा १०० किलोभन्दा बढी प्लास्टिक फोहोर सङ्कलन भएको थियो। उनले वाटरपार्कमा प्लास्टिक फोहोर जताततै फाल्ने र व्यवस्थापन नगर्ने प्रवृत्तिका कारण समस्या उत्पन्न भएको बताए।

प्रतिक्रिया